पूर्वडीआईजी जोशीको बयान मंगलबारदेखि, अब यसरी बढ्छ मुद्दा प्रक्रिया

विजय नेपाल ७ असोज २०८१ २१:०६
24
SHARES
पूर्वडीआईजी जोशीको बयान मंगलबारदेखि, अब यसरी बढ्छ मुद्दा प्रक्रिया

पोखरा- सहकारी रकम अपचलन मुद्दामा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशी अब पाँच दिन हिरासतमा रहने भएका छन्। कास्की जिल्ला अदालतले उनलाई पाँच दिनसम्म कास्की प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापक/सेयर होल्डर तथा सञ्चालकसमेत रहेका पूर्व डीआईजी जोशी आइतबार काठमाडौँबाट पक्राउ परेका हुन्। उनलाई आइतबार राति नै बुद्ध एयरमार्फत पोखरा ल्याएर सोमबार जिल्ला अदालत उपस्थित गराइएकोमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले म्याद थपको अनुमति दिएको हो। म्याद थपमा हाललाई ‘सहकारी ठगी’ मुद्दा उल्लेख भएकोमा अनुसन्धानका क्रममा थप कसूरसमेत आकर्षित हुन सक्ने कानुनविद् बताउँछन्।

सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले सूर्य दर्शन सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछानेलाई कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको आधारमा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशन दिएको थियो। सोही आधारमा जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शंखमूलबाट पक्राउ गरेको थियो। काठमाडौँ–१, नक्साल घर भएका ५९ वर्षीय जोशी विदेश जान लागेको गोप्य सूचना आधारमा तत्काल उनीविरुद्ध जरुरी पक्राउ पुर्जी जारी गर्दै नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले बताए।

अनुसन्धानका लागि म्याद थप गर्न सोमबार दिउँसो अदालत उपस्थित गराउने क्रममा पोखरा सहिदचोकस्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सूर्य दर्शन सहकारीका पीडितहरू आमनेसामने भएका थिए। उनीहरूले आ–आफ्नो पक्षमा नाराबारी गरेका थिए।

रास्वपाका कार्यकर्ता पार्टी अध्यक्ष रवि लामिछानेको पक्षमा उत्रिँदा सहकारी पीडितले भने लामिछानेलाई पक्राउ नगरिएकोमा रोष प्रकट गरेका थिए। अप्रिय घटना हुन नदिन उक्त स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मीसमेत तैनाथ थियो। प्रहरी भ्यानमा हालेर जोशीलाई अदालत उपस्थित गराइँदा बाहिर सहकारी पीडितले आफ्नो रकम तत्काल फिर्ताको माग गर्दै न्यायका लागि नाराबाजी गरेका थिए।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा जोशीले आफूलाई हिरासतमा नराखीकन मुद्दा लड्न पाउनुपर्नेमा माग गरेका थिए। जोशीको पक्षबाट मुद्दा लडेका न्यायाधीश रोहितराज बास्तोलाले उनको भनाइ उदधृृत गर्दै भने, ‘उहाँले पासपोर्ट आफ्नो अदालतले राखे हुन्छ भन्दै आफू देश छाडेर बाहिर नजाने, हिरासत बाहिर रहेर मुद्दा लड्ने र अनुसन्धानमा सघाउने बताउनुभएको थियो। यद्यपि, म्याद थप भएको छ।’

उनले आफू भागेर जाने भए पहिल्यै नै देशबाहिर जान सक्ने बताउँदै जरुरी पक्राउ पुर्जी आवश्यक नभएको जिकिरसमेत गरेका थिए। आफू व्यक्तिगतरूपमा दोषी नभएको दाबी गर्दै तारेखमा रहेर मुद्दा लड्न माग गरेका थिए। सूर्य दर्शन सहकारीको पैसा आफूले नचलाएको र पहिल्यै नै गोर्खा मिडिया छाडेको समेत उनको जिकिर छ। खासमा उनको बयान भने मंगलबारदेखि मात्र सुरु हुनेछ।

पोखरा–४, नालाकोमुखस्थित सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेयर, बचत तथा जगेडा लगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधानविपरीत हिनामिना एवं अपचलन गरी सहकारी संस्थाबाट गैरकानुनीरूपमा गोर्खा मिडिया नेटवर्क प्रालि (ग्यालेक्सी फोर के टिभी) मा लगानी गरी सहकारी ऐनको परिभाषित ठगीसम्बन्धी कसूरमा जोशी संलग्न रहेको छानबिन समितिको प्रतिवेदनले देखाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले अदालतबाट म्याद थपसँगै अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए। उनका अनुसार अब जिल्ला सरकारी वकिलको उपस्थितिमा बयान लिने प्रक्रिया अघि बढ्नेछ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले जोशीविरुद्ध प्रहरी र सरकारी वकिलको फुर्सद आधारमा बयान लिने काम सुरु हुने बताए। उनले भने, ‘अदालतले म्याद थपको अनुमति दिइसकेपछि सोही दिनबाट पनि बयान लिन सकिन्छ तर प्रहरी र सरकारी वकिलको फुर्सद आधारमा बयान हुनेछ। जोशीको सम्भवतः भोलि (मंगलबार) देखि बयान लिइनेछ।’

अर्को म्याद थप हुने बेलासम्म बयान लिएर जानुपर्ने प्रावधान रहेको सहायक जिल्ला न्यायाधिवक्ता तिवारीले बताए। उनका अनुसार सुरुमा म्याद थप हुँदा उल्लेखित मुद्दामा बयान लिइन्छ, बयानका क्रममा अन्य तथ्य खुल्दै गए अरू मुद्दाहरू पनि आकर्षित हुन सक्नेछन्।

कानुनविद्का अनुसार जोशीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसूरमा समेत अनुसन्धान अघि बढ्ने देखिन्छ। यदि त्यसो भए उनी कम्तीमा २५ दिन प्रहरी हिरासतमा बस्नेछन्।

देशका विभिन्न पाँच सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ लगिएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ। जोशी सञ्चालक हुँदा पोखराको सूर्य दर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट उक्त रकम लगिएको उल्लेख छ। गोर्खा मिडियामा सूर्य दर्शनको मात्रै पाँच करोड रुपैयाँ गएको देखाइएको छ।

सहकारीको रकम कम्पनीमा ल्याउने, झुटा कागज बनाएर कम्पनीको सेयर लेनदेन गर्ने तथा लगानीको स्रोतमा पनि कैफियत गर्नेलगायत कार्य भएकाले प्रचलित कानुनका विभिन्न दफा आकर्षित हुने बताइएको छ।

सूर्य दर्शन सहकारीको १ अर्ब ११ करोड रुपैयाँ हिनामिना एवं अपचलन गरेको अभियोगमा १९ जना प्रतिवादीविरुद्ध सहकारी ठगी मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ। सुरुमा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १९ जनालाई प्रतिवादी बनाइएकोमा पछि सूर्य दर्शन सहकारी पीडितले गोर्खा मिडिया, रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने, दीपेश पुन, नेत्रपाणि बास्तोलासहित चार व्यक्ति र १४ संस्थालाई विपक्षी बनाएर गत वर्ष २२ माघमा पूरक जाहेरी दिएका थिए।

सूर्य दर्शनसहित विभिन्न सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिले सहकारी अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछानेलाई कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको थियो। तीमध्ये रम्तेल कास्की जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा छन्। राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएकोमा अझसम्म पक्राउ परेका छैनन्।

सूर्य दर्शनलगायत सहकारीको बचत रकम अपचलनका सन्दर्भमा परेका जाहेरीमा पूरक अनुसन्धान गर्न संसदीय छानबिन विशेष समितिको सिफारिसका आधारमा गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो।

लामिछाने समेत पक्राउ पर्न लागेको खबरले आइतबार राति पार्टी कार्यालय काठमाडौँमा रास्वपाका कार्यकर्ताले सरकारी रवैयाविरुद्ध नाराबाजीसमेत गरेका थिए। लामिछाने यदि पक्राउ परे वारदातस्थल कास्कीसमेत भएकाले उनको मुद्दा पनि कास्की अदालतमै चल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =