पोखरामा सहकारीपीडित र रास्वपा कार्यकर्ताको नाराबाजी एकै ठाउँमा

हिमाल प्रेस ७ असोज २०८१ १५:२२
20
SHARES
पोखरामा सहकारीपीडित र रास्वपा कार्यकर्ताको नाराबाजी एकै ठाउँमा

पोखरा- गोर्खा मिडिया नेटवर्क प्रालिका सेयर सदस्य तथा सञ्चालक पूर्व डीआइजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा म्याद थपका लागि लैजाने क्रममा दुई पक्षको विरोध प्रदर्शन एक ठाउँमा देखियो।

सोमबार सहिदचोकस्थित जिल्ला प्रशासन कार्यालय, कास्कीअगाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले एक छेउमा बसेर षड्यन्त्रमा फसाउन खोजिएको भन्दै नाराबाजी गर्दा अर्को कुनामा सूर्यदर्शन सहकारीपीडितले आन्दोलन गरेका हुन्।

रास्वपा कार्यकर्ताले पार्टी अध्यक्ष रवि लामिछानेलाई समेत फसाउन खोजिएको भन्दै पक्राउ गरिए आन्दोलनको चेतावनी दिएका थिए। उता, सहकारीपीडितले भने रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने माग गर्दै नाराबाजी गरिरहे।

सम्भावित अप्रिय घटना हुन नदिन त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी समेत खटाइएको थियो। आइतबार काठमाडौंमा पक्राउ परेका गोर्खा जोशीलाई आइतबार राति नै विमानमार्फत पोखरा ल्याइएको थियो। उनलाई जिल्ला प्रहरी कार्यालयले अदालतमा म्याद थपका लागि उपस्थित गराएको छ।

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले उक्त सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछानेलाई कानूनअनुसार कारबाही गर्न सिफारिस गरेको थियो। तीमध्ये रम्तेल कास्की जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा छन्। राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएकोमा अझसम्म पक्राउ परेका छैनन्।

पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा ६५ करोड ५४ लाख रुपैयाँ लगिएको प्रतिवेदनमा उल्लेख छ। सहकारीको रकम कम्पनीमा ल्याउने, झुटा कागज बनाएर कम्पनीको सेयर लेनदेन गर्ने तथा लगानीको स्रोतमा पनि कैफियत गर्नेलगायत कार्य भएकाले प्रचलित कानूनका विभिन्न दफा आकर्षित हुने उल्लेख छ।

पोखराको सूर्यदर्शन सहकारीको १ अर्ब ११ करोड रुपैयाँ हिनामिना एवं अपचलन गरेको अभियोगमा उक्त मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ। सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १९ जनालाई सुरुमा प्रतिवादी बनाइएको थियो। सहकारीपीडितले पछि फेरि केही संस्था र व्यक्तिविरुद्ध समेत पूरक जाहेरी दिएका थिए।

हालसम्म पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक सदस्य शिवबहादुर गुरुङ र भविश्वर अर्याल र सहकारीका सञ्चालक समिति सदस्य प्रमोद भट्टराई छन्। उनीहरु कास्की जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएका छन्।

संस्थापक अध्यक्ष जीबी राई, पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर, सचिव धीरजकुमार दास, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठ अझै फरार छन्।

प्रकाशित: ७ असोज २०८१ १५:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =