प्रचण्डले हात दिए बाबुरामले मिलाएनन्

रमेश दवाडी १ असोज २०८१ १५:५६
158
SHARES
प्रचण्डले हात दिए बाबुरामले मिलाएनन् बाबुराम भट्टराई र पुष्पकमल दाहाल कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को टेलिचलचित्र ‘राधाकृष्ण’को प्रिमियर सोमा सहभागी हुँदै।

काठमाडौँ- २०५२ सालमा ‘जनयुद्ध’ सँगै हाँकेका दुई नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराई लामो समयपछि एउटै मञ्चमा देखिए। संयोग थियो कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को टेलिचलचित्र  ‘राधाकृष्ण’को प्रिमियर सो।

जनयुद्धको घटनामा आधारित टेलिचलचित्र बनाएका कारण मरिचमानले प्रचण्ड र बाबुरामलाई अतिथिका रूपमा बोलाएका थिए। अहिले दुवै पूर्वप्रधानमन्त्री अलगअलग दलमा छन्। प्रचण्ड माओवादीकै अध्यक्ष छन् भने भट्टराई नेपाल समाजवादी पार्टीका संयोजक।

कार्यक्रम थापागाउँस्थित  मण्डला थिएटरमा थियो। बिहीबार (भदौ २७ गते) अपराह्न २ बजे सुरु हुने भनिएको कार्यक्रम ५ बजेमात्र सुरु भयो।

प्रचण्डलाई पर्खिरहे बाबुराम

मण्डला थिएटरको माथिल्लो तलामा पार्टीका प्रवक्ता कृष्ण शर्मा, स्वकीय सचिव रोशन पोखरेलसँग कालो चिया पिउँदै थिए बाबुराम। प्रचण्ड आएपछि कार्यक्रम सुरु गर्ने आयोजकको आग्रहमा बाबुराम प्रतीक्षामा थिए।

बाबुरामले चिया पिउँदै पार्टी र देशको राजनीतिक अवस्थाबारे कुराकानी गरेका थिए। ‘राजनीतिमा लाग्नु ठट्टा हो र? के सोचका छन् मान्छेले?’ बाबुरामले प्रश्न गरे। दलमा आबद्ध हुने र लाभको पद पाएपछि पार्टी छाड्नेलाई कटाक्ष गर्दै बाबुरामले यस्तो अभिव्यक्ति दिएका थिए। नेपाल समाजवादी पार्टीमा पनि नेताकार्यकर्ता आउने-जाने भइरहेको छ।

तोकिएको समयभन्दा ढिलो कार्यक्रम हुँदा बाबुरामको मुहारमा रिसाइरहेको भाव झल्किन्थ्यो। कलाकार बल्छी धुर्बेले ढिला भएकोमा बाबुरामसँग माफी पनि मागे।

साँझ सवा पाँच बज्यो। थिएटर कलाकारले भरिएको थियो। बाबुराम माथिबाट ओर्लेर शौचालय गएकै बेला प्रचण्डको आगमन भयो। प्रचण्ड दलबलसहित मण्डला थिएटरमा छिरे। त्यसपछि बाबुराम पनि प्रवेश गरे। अगाडिको पंक्तिमा राखिएको कुर्सीमा प्रचण्ड र बाबुराम सँगै बसे। उनीहरूको बसाइ ‘मित्रपछिको दुश्मन’ जस्तो देखिन्थ्यो। राष्ट्रियगान गाउने काम सकियो। दुईजना बस्न लागेका बेला प्रचण्डले बाबुरामसँग हात मिलाउन हात अगाडि बढाए बाबुरामले भने हात दिएनन्।

बाबुराम र प्रचण्डबीच सम्बन्ध राम्रो छैन। गत आमनिर्वाचन (२०७९) मा बाबुरामले गोरखा-२ आफ्नै क्षेत्रमा लगेर प्रचण्डलाई चुनाव जिताएका थिए। चुनाव जितेपछि प्रचण्डले आफूलाई धोका दिएको आरोप बाबुरामले लगाउँदै आएका छन्। त्यसैले उनी प्रचण्डसँग खुसी छैनन्। उक्त दृश्य देख्दा बाबुरामको प्रचण्डसँगबीच दूरी  निकै फराकिलो हुँदै गएको स्पष्ट हुन्छ।

एकै स्वरमा जनयुद्धको गुणगान

जनयुद्धमै आधारित टेलिचलचित्र राधाकृष्णको प्रिमियर सोमा प्रचण्ड र बाबुरामले जनयुद्धको गुणगान गरे। दुई नेताले नेपालमा चलेको सशस्त्र युद्ध लाखौँ जनता सहभागी भएर लडिएको परिघटना भएको बताए। उनीहरूले आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो ऐतिहासिक परिघटना भएकाले यसको आवश्यकता र महत्त्वमाथि युगयुगसम्म चर्चा भइरहने दाबी पनि गरे।

माओवादी अध्यक्ष प्रचण्डले भने, ‘पृथ्वीनारायण शाहको नेपाल एकीकरणपछि लाखौँलाख जनता सहभागी भएर गरिएको कुनै राजनीतिक आन्दोलन छ भने त्यो माओवादी जनयुद्ध हो।’ उनले यसबाट वर्षौँदेखिको वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक, भाषिक उत्पीडनको अन्त्य भएर समतामूलक समाज निर्माणको नयाँ आधार खडा भएको दाबी गरे। ‘यति ठूलो आन्दोलन ल्याटिन अमेरिकी मुलुक वा युरोपतिर भएको हुन्थ्यो भने विश्वव्यापी परिवर्तनको घटनाको रूपमा दर्ज भइसक्ने थियो’, प्रचण्डले भने।

बाबुरामले पनि माओवादी युद्धकै कारण आज संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको चर्चा गरेका थिए। उनले जनयुद्धका क्रममा भएका कतिपय घटनालाई लिएर मूल पक्ष ओझेलमा पार्ने प्रयास गर्नु इतिहासप्रतिको सही मूल्यांकन नहुने बताएका थिए।

‘बच्चा सालनालसहित जन्मन्छ, पानीले पखालेर मात्रै सफा गरिन्छ तर बच्चासँगै जन्मेको फोहोर मूलपक्ष होइन, मूल पक्ष भनेको बच्चाको जन्मले दिएको खुसीयाली हो’, बाबुरामले भने, ‘माओवादी जनयुद्ध पनि यस्तै हो। जनयुद्धका क्रममा कतिपय नहुनुपर्ने घटना नभएका होइनन् तर मूलपक्ष भनेको यो परिवर्तनका लागि भएको परिघटना थियो र यसले आम उत्पीडित जनतालाई दिएको मुक्ति र खुसी नै जनयुद्धको मूलपक्ष हो।’

प्रकाशित: १ असोज २०८१ १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =