सिद्धकाली मन्दिर ओझेलमा

हिमाल प्रेस ३० भदौ २०८१ ८:३२
4
SHARES
सिद्धकाली मन्दिर ओझेलमा

संखुवासभा- चैनपुर नगरपालिका-३ स्थित सिद्धकाली मन्दिर प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ। त्यहाँ पूजाअर्चना गर्नाले आफूले चाहेको पूरा हुने विश्वासका साथ भक्तजन त्यहाँ पुग्ने गरेका छन्।

धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण हुँदाहुँदै पनि उचित व्यवस्थापन र प्रचारप्रसार अभावमा यो मन्दिर अहिले ओझेलमा छ। चिताएको मनोकामना पूरा हुने विश्वासका साथ जिल्ला तथा जिल्ला बाहिरका विभिन्न स्थानबाट यो मन्दिरको दर्शन गर्न भक्तजन आउने गरेका छन्।

यसको व्यापक रूपमा प्रचारप्रसार गर्न सकेको खण्डमा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने पुजारी ओमबहादुर पुरीले बताए। चैनपुर बजार नजिकै रहेको ऐतिहासिक तथा धार्मिक महत्त्वपूर्ण सिद्धकाली मन्दिर चर्चित र पवित्र स्थान हो। यस मन्दिरले धार्मिक, ऐतिहासिक, प्रसिद्ध तथा सांस्कृतिक महत्व बोकेको छ । बालाचतुर्दशी र रामनवमीमा गरी वर्षमा दुईपटक ठूलो मेला लाग्ने गरेको छ।

भक्तजन आफ्ना कूलपितृको सम्झनामा सतबिज छर्नका लागि समेत यहाँ पुग्ने गरेका छन्। मन्दिरको नजिकै परेवा उडाउने तथा बलि पूजा गर्ने ठाउँ छ। सिद्धकाली मन्दिरको दर्शन गरे मनले सोचेका इच्छा–आकांक्षा पूरा हुने विश्वास रहेको पुजारी पुरीले बताए।

सतिदेवीको दाहिने आँखा पतन भएको सिद्धकाली मन्दिर दर्शन गर्न नेपालका विभिन्न स्थान र भारतबाट पनि दर्शनार्थी आउने गरेका छन्। नेपालकै चर्चित प्रसिद्ध धार्मिक क्षेत्र भए पनि यहाँको महत्वलाई बुझाउन नसक्दा ओझेलमा परेको पुजारी बताउँछन्।

यो स्थानलाई धार्मिक पर्यटनका रूपमा विकास गर्न सरकारले भूमिका खेल्नुपर्ने स्थानीयको भनाइ छ। चैनपुरमा व्यापारको सम्भावना देखेर काठमाडौँ, भक्तपुर, ललितपुर, धुलिखेल, बनेपा, साँगा, नाला आदि स्थानबाट समेत व्यापार–व्यवसायका सिलसिलामा नेवार समुदाय यहाँ चैनपुर बसोबास गरेको थियो।

चैनपुर नगरपालिका ‘चन्द्रपुर’ भन्ने धार्मिक ऐतिहासिक नामबाट अपभ्रंश हुँदै चैनपुर रहन गएको पुजारी रत्ननाथ महन्तले बताए। चैनपुरका शिल्पकारले बनाएका धातुको करुवा चैनपुरको अर्को महत्त्वपूर्ण पहिचान हो।

प्रकाशित: ३० भदौ २०८१ ८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast