हाम्रो पार्टी सहभागी नभई संविधान संशोधन गर्छु भनेर नसोचे हुन्छ : माधवकुमार नेपाल

हिमाल प्रेस ९ भदौ २०८१ १७:०२ | Sunday, August 25, 2024
हाम्रो पार्टी सहभागी नभई संविधान संशोधन गर्छु भनेर नसोचे हुन्छ : माधवकुमार नेपाल माधवकुमार नेपाल

काठमाडौँ- प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूको सहभागिताबिना संविधान संशोधन गर्ने सम्भावना नरहेको बताएका छन्।

सत्तारुढ कांग्रेस र एमाले अपारदर्शी ढंगले सो प्रस्ताव ल्याएको जिकिर गर्दै अध्यक्ष नेपालले त्यसमा आफूहरूको सहभागिताबिना सम्भव नरहेको दाबी गरेका हुन्। आइतबार काठमाडौँमा आयोजित पार्टी केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहमा बोल्दै उनले सरकारमा सहभागी नभएका दलहरूको संख्याले संविधान संशोधन गर्न नदिने स्पष्ट पारे।

आफ्नो पार्टीको सहभागिता बिना संविधान संशोधन सम्भव होला भन्नेकुरा कसैले ठानेको भए त्यो गलत हुने अध्यक्ष नेपालको भनाइ थियो। ‘यो जुन हिसाबले संविधान संशोधनको विषय आएको छ । यो पनि बडो अपारदर्शी छ। के हो के? बुझ्न सकिएको छैन’ उनले भने, ‘हाम्रो सहभागिता बिना संविधान संशोधन गरौँला, सम्भव होला भन्ने कुरा कसैले ठानेको छ भने उसले गलत ठानिरहेको छ। त्यो सम्भव छैन। हाम्रो संख्याले पनि दिँदैन म भन्छु तपाईहरुलाई। हाम्रो संख्या र त्यसमा सहभागी नभएकाहरुको संख्याले यो संविधान संशोधन गर्न दिँदैन।’

उनले संविधान संशोधन गर्ने सत्तारुढ कांग्रेस–एमालेको सहमति मध्यरातमा भएकाले त्यो आफैँ सन्देहस्पद रहेको पनि दोहोर्‍याए। उनले संविधान संशोधन आवश्यक भएको उल्लेख गर्दै त्यसमा खुला बहस गरेर अघि बढ्नुपर्ने धारणा पनि राखे।

अध्यक्ष नेपालले भने, ‘यो समीकरण रातारात परिवर्तन भयो। कसरी मान्छेहरूलाई झुक्याइँदो रहेछ। हुन त सबै झुक्किँदा रहेनछन्। धेरै सोझो भएर पनि झुक्किँदा रहेछन् धेरै बाठो भएर पनि झुक्किँदा रहेछन्।’ अध्यक्ष नेपालले नेपालमा दुई पार्टी पद्धति सम्भव नरहेको पनि बताए।

प्रकाशित: ९ भदौ २०८१ १७:०२ | Sunday, August 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast