चितवन पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

हिमाल प्रेस ३२ साउन २०८१ १९:२९ | Friday, August 16, 2024
चितवन पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

चितवन – चितवनलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। शुक्रबार यहाँ आयोजित कार्यक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले राज्यका लागि बलियो मानवपुँजी निर्माण गर्न खोप प्रभावकारी रहेको भन्दै यसको दिगोपनका लागि अझै मिहिनत गर्नुपर्ने बताए। उनले खोप कार्यक्रम सफल बनाउन भूमिका खेल्ने महिला स्वास्थ्य स्वयंसेविकालगायत सरोकार भएकालाई सबैलाई धन्यवाद दिए।

माडी नगरपालिका प्रमुख ताराकाजी महतोले पूर्ण खोप सुनिश्चिततासँगै जिम्मेवारी थपिएको बताए। उनले खेती किसानी र ज्याला मजदुरी गर्न आउने अस्थायी बसोबासीका बालबालिका छुट्ने गरेका र माडीका विकट ठाउँमा पूर्ण खोप लगाउन चुनौती रहेको बताए।

खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेतीले अस्थायी बसोबासी खोपबाट छुट्ने गरेकातर्फ आफ्नो नगरपालिकाले ध्यान दिइरहेको बताए। उनले नगरपालिकाले लागू गरेको बाआमा स्वास्थ्य कार्यक्रमअन्तर्गत तीन–तीन महिनामा स्थानीयका घरघरमा पुग्नेबेला कोही छुटको देखिए खोप लगाउने व्यवस्था मिलाउने गरिएको जानकारी दिए।

ईच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवालले जिल्ल्लालाई खोप सुनिश्चितता घोषणा गरिए तापनि अब यसलाई निरन्तरता र दिगोपनामा सबैले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए।

कालिका नगरपालिका सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जनस्वास्थ्य कार्यालय प्रमुख दिनेश रूपाखेतीले खोप बालबालिकाको नैसर्गिक अधिकार भएकाले यसको सुनिश्चिताका लागि समन्वयात्मक ढंगले अगाडि बढ्नुपर्ने बताए।

त्यस अवसरमा प्रदेशबाट प्राप्त पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणपत्र जिल्ला तथा पालिकालाई प्रदान गरिएको थियो। सहभागीले दिगोपनाका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए।

प्रकाशित: ३२ साउन २०८१ १९:२९ | Friday, August 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast