पोखरा दुर्घटना : हेर्दाहेर्दै खस्यो स्कुल बस

विजय नेपाल १४ साउन २०८१ १६:१५
12
SHARES
पोखरा दुर्घटना : हेर्दाहेर्दै खस्यो स्कुल बस पोखरामा दुर्घटनामा परेको बस।

पोखरा- एलपी देवकोटा मेमोरियल स्कुलको विद्यार्थी बोकेको बस दुर्घटनामा मुख्य कारण बसको अत्यधिक गति भएको घाइते विद्यार्थीले बताएका छन्। पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत् घाइतेले चालकले अरु बेलाभन्दा बढी नै स्पिडमा गाडी कुदाएको बताए।

सोमबार बिहान पोखरा २१, रामदीबाट पोखरा १७, बिरौटास्थित विद्यालयमा फर्किने क्रममा ग १ क ६२१९ नम्बरको बस सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो। बसमा विद्यार्थी, चालक र सहचालक गरी ३० जना सवार थिए। उक्त दुर्घटनामा विद्यालयको कार्यालय सहयोगी पोखरा २१ निवासी ३३ वर्षीया आरती बिक र उनका ६ वर्षीय छोरा प्रिन्सको मृत्यु भएको छ। आरतीको अर्का ९ वर्षीय छोरा अनमोल घाइते छन्।

घाइतेहरूको पोखराका विभिन्न ३ अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घाइतेमध्ये १३ जनाको गण्डकी मेडिकल कलेज, १२ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अधिकांशको अनुहार, हातखुट्टा, ढाडमा चोट छ। प्रहरीका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ।

गण्डकी मेडिकल अस्पतालमा पुर्‍याइएकी आरतीलाई चिकित्सकले बिहान पौने १० बजे मृत घोषित गरेका हुन्। यस्तै उपचारका क्रममा उनका छोरा प्रिन्सलाई १० बजेर ४५ मिनेटमा मृत्यु भएको हो। सोही अस्पतालमा आरतीका जेठा छोरा अनमोलको उपचार भइरहेको छ। अनमोल कक्षा ३ मा पढ्छन्। उनको खुट्टामा सामान्य चोट लागेको छ। अवस्था मध्यम रहेका उनी सहजै बोल्न सक्छन्। तर उनलाई आमा र भाइको मृत्यु भएको कहालीलाग्दो घटना सुनाइसकिएको छैन। त्यही अस्पतालमा उपचाररत् १५ वर्षीया प्रकृति कार्कीले हेर्दाहेर्दै बस खसेको बताइन्। दुर्घटना भएपछि आफूले केही थाहा नपाएको र एक्कासि अस्पतालमा पाएको बताइन्।

दुर्घटनामा ज्यान गुमाएका उनका भाइ प्रिन्स एलकेजीमा पढ्थे। गत वर्षमात्र उनी नर्सरीमा भर्ना भएका थिए। उनका बाबु रोजगारीका लागि विदेश जाने आउने गर्छन्। श्रीमती र कान्छा छोराको मृत्युले उनी भावविह्वल छन्।
आरती दुई छोरासँगै स्कुलमा दिनहुँजसो सोही गाडी चढेर आउजाउ गर्थिन्। कान्छा छोरा काखमै थिए। तर, सोमबार अप्रिय भयो। उनी विद्यालयमा कार्यालय सहयोगी भएकोले बालबालिकाको रेखदेख गर्ने तथा विद्यालयका सानोतिनो काम गर्थिन्।

पहिले ग्राभेल फुस्रेखोला-रामदी-मट्टीखान सडकमा भसर्खरैमात्र कालोपत्रे भएको हो। कालोपत्रे भएकोले चालकले गाडी पनि स्पिडमा कुदाउँदैआएका थिए। यसअघि पनि उक्त बसका चालकलाई स्पीड नकुदाउन सचेत गराइएको फुस्रेखोला-रामदी-मट्टीखान सडक निर्माण उपभोक्ता समिति सदस्य समन गुरुङले बताए। गाडी माथिल्लो घुम्दीदेखि सिधा अगाडि घर्सिंदै तल्लो सडकमा बजारिएको घाइतेले बताए।

गाडी उत्तानो परेर सिधैँ बजारिएको भए अझै धेरै मानवीय क्षति हुन सक्ने उद्धारमा खटिएका स्थानीय शिव बरालले बताए। शिव पोखराको सवलाइम स्कुलका शिक्षक हुन्। भर्खरै खाना खाएर स्कुल जाने तयारी गर्दा घर नजिकै स्कुल बस पल्टिएको देखेपछि हतारिँदै उनी दुर्घटनास्थल पुगेका थिए। उनैले कास्की प्रहरीलाई पहिलो खबर दिएका हुन्। उनले भने, ‘स्कुल जाने तयारी गरेको थिएँ, हेर्दाहेर्दै घर नजिकै बस पल्टिएको देखेपछि तुरुन्तै दुर्घटनास्थल गएर उद्धार गरेका हौं। उद्धार कार्य सकेर गाडीमा घाइते अस्पताल पठाएपछि मात्र प्रहरी आएको थियो।’

ओभरस्पिडका कारण बस चालकले नियन्त्रण गुमाउँदा मानवीय क्षति व्यहोर्नुपरेको उनले बताए। तर चालक बसचालक पोखरा १७ बिरौटा निवासी ५५ वर्षीय टेकबहादुर भुजेलले भने ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीलाई प्रारम्भिक बयान दिएका छन्। घाइते चालकको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनको ढाडमा चोट छ।

दुर्घटनामा २८ जना घाइतेमध्ये गण्डकी मेडिकल कलेजमा ९ वर्षीय अनमोसहित ५ वर्षीय रोशन बराल, १४ वर्षीय दीप्सन कार्की, ६ वर्षीया योजना गुरुङ, १३ वर्षीया डिना गुरुङ, १५ वर्षीया प्रकृति कार्की, ६ वर्षीय प्रिन्स राना, ७ वर्षीया चिजा बिक, ९ वर्षीय प्रवेश कार्की, १२ वर्षीया विसिका पौडेल, ११ वर्षीय विश्वास पौडेल, १२ वर्षीया सिम्रन बिक र ११ वर्षीय विवश खत्रीको उपचार भइरहेको छ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत् रहेकाहरूमा पोखरा २१ निवासी ८ वर्षीया अनन्या पौडेल, ३ वर्षीय सिमन मगर, ३ वर्षीय न्यूजन मगर, ७ वर्षीय रिजन मगर, १२ वर्षीय रामकृष्ण नेपाली, २ वर्षीय अंकित खत्री, १४ वर्षीया सीतादेवी बिक (छोरेपाटन स्कुलकी विद्यार्थी), ७ वषीय अस्मित बिक, ३० वर्षीया सुमित्रा सुनार (बच्चाको फि तिर्न आएकी अभिभावक), २ वर्षीय निर्दोष सुनार, ३० वर्षीया शिक्षक सपना आले, ११ वर्षीय निश्चल सुुनार छन्।

मणिपालमा बसचालकसहित ८ वर्षीय निशान सुनार र ५ वर्षीय सागर थापाको उपचार भइरहेको छ। घाइतेको अवस्था बुझ्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पताल पुगेका थिए। विद्यालयका लेखापाल बिन्दु तिमिल्सिनाका अनुसार विद्यार्थी बोक्नका लागि विद्यालयका ३ बस र १ भ्यान छन्। दुर्घटनामा परेको बसले पोखरा २१ को रामदी र एकहातेका ठाउँबाट विद्यार्थी उठाएको थियो। विद्यालयमा हाल ४ सय ६० जना विद्यार्थी पढ्छन्।

प्रकाशित: १४ साउन २०८१ १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =