खेलमा धेरै सुधारको जरूरी छ : कप्तान बर्मा

हिमाल प्रेस १० साउन २०८१ १५:४८ | Thursday, July 25, 2024
खेलमा धेरै सुधारको जरूरी छ : कप्तान बर्मा

काठमाडौँ – नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले स्तरीय प्रदर्शनका लागि खेलको धेरै क्षेत्रमा मिहिनेत गर्नुपर्ने बताएकी छन्। एसीसी महिला एसिया कप क्रिकेट खेलेर श्रीलंकाबाट बिहीबार स्वदेश फर्किएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो बताएकी हुन्।

कप्तान बर्माले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न खेलको सबै क्षेत्रमा सुधार जरूरी रहेको बताइन्। उनले ब्याटिङ, फिटनेस, बलिङ, फिल्डिङलगायतका सबै क्षेत्रमा काम गर्नुपर्ने आवश्यक्ता रहेको उल्लेख गरिन्।

कप्तान बर्माले एसिया कप जस्तो ठूलो खेल खेल्न पाउँदा उत्साहित भएको बताइन्। भारत र पाकिस्तानजस्ता टिमहरूसँग खेल्न पाउँदा टोलीले राम्रो अनुभव बटुल्ने मौका पाएको उनको भनाइ छ।

उनले एसीसी क्रिकेट प्रतियोगितामा टिमले सोचेजस्तो प्रदर्शन गर्न नसकेको उल्लेख गरिन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका पदाधिकारीहरूले नेपाली टोलीलाई स्वागत गरेका थिए।

एसीसी कपको पहिलो खेलमा युएईलाई पराजित गरे पनि नेपाली टोलीले भारत र पाकिस्तानविरूद्धको खेलमा सन्तोषजनक प्रदर्शन गर्न सकेको थिएन। क्रिकेट खेलका विश्लेषकहरूले पनि नेपाली टोलीले गरिरहेको मिहिनेतको प्रशंसा गरे पनि थप सुधार गर्नुपर्ने औँल्याएका थिए।

८ टिम सहभागी प्रतियोगितामा समूह ‘ए’ मा रहेको नेपालले भारत, पाकिस्तान र युएईसँग प्रतिस्पर्धा गरेको थियो। आफ्नो पहिलो खेलमा युएईलाई ६ विकेटले पराजित गरेको नेपालले प्रतियोगिताको मजबुत टिम ठानिएका भारत र पाकिस्तानसँग हार बेहोर्नुपरेको थियो।

लगातार दुई खेलमा हारको सामना गरेको नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो। एसीसी महिला क्रिकेट टी–२० प्रतियोगितामा समूह ‘ए’ बाट सबै तीन खेल जितेर शीर्ष स्थानमा रहेको भारत र दोस्रो स्थानमा रहेको पाकिस्तान सेमिफाइनलमा पुगेको छ।

त्यस्तै समूह ‘बी’ बाट सबै खेल जितेर शीर्ष स्थानमा रहेको श्रीलंका र दोस्रो स्थानमा रहेको बंगलादेशले सेमिफाइनलमा स्थान पक्का गरेका छन्। शुक्रबार हुने दुवै सेमिफाइनल खेलमा भारत र बंगलादेश तथा श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनलका दुइै विजेता टिमबीच उपाधिका लागि आइतबार प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १० साउन २०८१ १५:४८ | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast