काठमाडौँ महानगरले थाल्यो एसईई पुरक परीक्षा तयारी कक्षा

हिमाल प्रेस २३ असार २०८१ १६:३३
124
SHARES
काठमाडौँ महानगरले थाल्यो एसईई पुरक परीक्षा तयारी कक्षा

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक विद्यालयका विद्यार्थीका लागि एसईई पुरक परीक्षाको तयारी कक्षा सुरु गरेको छ। २०८० सालको एसईईमा नियमित परीक्षार्थीमा सहभागी भएर ग्रेड वृद्धि पाउन नसकेका ८७३ जना विद्यार्थीका लागि कक्षा सुरु गरिएको हो।

कक्षा सञ्चालनका लागि गएको शुक्रबार सहरी योजना आयोग र शिक्षा विभागले, विद्यालयका प्रधानाध्यापक र शिक्षकसँग छुट्टाछुट्टै तयारी बैठक गरेका थिए। महानगरपालिकाभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट २०८० सालको माध्यमिक शिक्षा परीक्षामा ३ हजार ९५९ जना विद्यार्थी सहभागी भएका थिए। जसमध्ये ३ हजार ८६ जना ९७८५० ले ग्रेडवृद्धि प्राप्त गरेका थिए। बाँकी ८७३ जना ९२२५० विद्यार्थी ग्रेड वृद्धि (पुरक) परीक्षामा सहभागी हुँदैछन्।

विषयगत रूपमा हेर्दा सबैभन्दा धेरै ४५९ जना विद्यार्थी गणित विषयमा अनुत्तीर्ण भएका छन्। यसपछि अर्थशास्त्रमा २१९ जना, विज्ञानमा २६६ जना, सामाजिकमा १८९ जना, नेपालीमा ११६ जना, अंग्रेजीमा ९१ जना, लेखामा ७० जना, अप्सनल म्याथमा ५८ जना, कम्प्युटरमा २० जना, जनसंख्यामा ८ जना अनुत्तीर्ण भएका छन्।

इलेक्ट्रिकल मेसिन विषयमा ४ जना, भूगोलमा ३ जना, वेसिक इलेक्ट्रिकलमा ३ जना, इन्डष्ट्रियल इन्स्टलेसनमा २ जना, इलेक्ट्रिकल इञ्जिनियरिङ्मा १ जना र वातावरण विज्ञानमा १ जना अनुत्तीर्ण छन्। यी विद्यार्थीलाई स्रोत केन्द्रमा क्याम्प राखेर कक्षा सुरु गरिएको हो।

सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्छन्,‘यी कक्षाहरू पास गराउनमाभन्दा पास गराउने वातावरण तयार गर्नका लागि हुन्।’ थप स्पष्ट पार्दै उनी भन्छन्, ‘पास गराउन पाठ पढाइन्छ। पास गराउने वातावरण तयार पार्दा विद्यार्थीलाई पाठ पढाउनुका साथै सिकाइप्रति उत्साहित गरिन्छ। केही बिग्रिएको छैन भनेर प्रोत्साहित गरिन्छ।’ यसप्रकारको वातावरण तयार पार्नका लागि विद्यार्थीलाई स्वच्छ खानाको प्रबन्ध गरिएको, १ सय शिक्षकको रोष्टर बनाएर कक्षा सञ्चालन थालिएको उनको भनाइ छ।

कक्षामा व्यक्तिगत परामर्श, पियर लर्निङ् (दुई जनाका बिचमा हुने अन्तरक्रियात्मक सिकाइ) र समूहगत सिकाइ जस्ता विधि अबलम्बन गरेर कक्षा सञ्चालन हुनेछन्। यो महानगरपालिकाका लागि पनि परीक्षा हो। सचिवालय सल्लाहकार सस्मित पोखरेल भन्छिन्,‘विद्यार्थी जुन विषयमा अनुत्तीर्ण भए उनीहरूलाई विषय कठिन लागेकोले अनुत्तीर्ण भएका हुन्। यही कठिन विषयमा उनीहरूलाई रुचि जगाउनु छ। यही विषयमा अध्यापन गराउनु छ। उनीहरूलाई अध्ययन गराउनु प्रेरित गर्नु छ। यसमा ग्रेड वृद्धि गराउनु छ। यसकारण यो महानगरपालिकाका लागि पनि परीक्षा हो। यो परीक्षा जसरी पनि उत्तीर्ण गर्नु पर्नेछ।’

प्रकाशित: २३ असार २०८१ १६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fifteen =