रोजगारी नपाएपछि मौरीपालन थालेका सूर्य अहिले वर्षमै कमाउँछन् २५ लाख

हिमाल प्रेस २५ जेठ २०८१ २२:०७
18
SHARES
रोजगारी नपाएपछि मौरीपालन थालेका सूर्य अहिले वर्षमै कमाउँछन् २५ लाख

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३१, बेगनासका सूर्यप्रसाद लामिछाने मौरीपालनमा जोडिएको १८ वर्ष बित्यो। २०६३ मा १० हजारको लगानीमा दुईवटा घारबाट सुरु भएको उनको मौरीपालन व्यवसाय अहिले ‘बेगनास मौरीघार उद्योग’का रूपमा विस्तार भएको छ। सो उद्योगबाट घारसँगै मौरी, मह र मौरीजन्य सामग्री उत्पादन तथा बिक्री हुने गरेको छ।

‘मौरीको स्थानीय स्रोत केन्द्रका रुपमा उद्योगलाई विकास गरेका छौँ, हालसम्म एक करोड बढी लगानी भइसकेको छ,’ ४२ वर्षीय लामिछानेले भने, ‘उद्योगमा वार्षिक एक करोड बढीको कारोबार हुन्छ, झण्डै २४/२५ लाख जति आम्दानी छ।’ उद्योगमा ६ जनाले रोजगारी पाएका छन्। लामिछानेको परिवारका सदस्य पनि सोही व्यवसायमा तल्लिन छन्।

कतै रोजगारी नपाएपछि २४ वर्षको उमेरमा मौरीपालनमा होमिएका लामिछाने अहिले आफैँ रोजगारदाता बन्न सफल भएका हुन्। ‘यहाँ उत्पादित मौरीघार पूर्वमा सिन्धुलीदेखि देशका विभिन्न जिल्ला र सहरमा पुग्छ, धेरैजसो खपत गण्डकी प्रदेशभित्रै छ,’ उनले भने, ‘कुनै याममा त गोलासहितको मौरीघारको माग पुर्‍याउनै धौधौ हुन्छ, मौरीपालन व्यवसायबाट म सन्तुष्ट छु, उद्योगको कामले एकछिन फुर्सद हुँदैन।’

मौरीसहितको आधुनिक घारको बजार मूल्य १० हजार र घारको मात्र चार हजार तोकिएको उनले जानकारी दिए। ‘गोलासहित वर्षमा १२ सय जति घार उत्पादन र बिक्री हुँदै आएको छ, किसानहरुबाट घार लिने र त्यसको सट्टा किसानलाई मौरीको गोला पनि दिने गरिएको छ,’ उनले भने। मह मात्रै बेचेर वर्षमा आठदेखि १० लाखसम्म जति कमाइ हुने गरेको लामिछानेले सुनाए।

उद्योगबाट प्रतिकिलो एक हजार पाँच सयमा मह बिक्री हुने गरेको छ। स्वस्थ र स्वादिलो भएकाले महको माग बढी हुने गरेको उनको भनाइ छ। उनका अनुसार उद्योगमा अहिले तीन सय ५० घार मौरी छन्। वार्षिक १२ सय देखि १५ सय किलोसम्म मह उत्पादन हुँदै आएको छ। मौसम अनुकूल पर्दा मह उत्पादन अझ बढ्ने गरेको उनको भनाइ छ। वर्षको दुई याममा मह उत्पादन हुन्छ। उद्योगबाट मौरीपालनका लागि आवश्यक पञ्जा, झोला, टोपीलगायत सामग्री पनि बेच्ने गरिएको छ।

लामिछानेले स्थानीय सेरेना जातको मौरीपालन गर्दै आएका छन्। स्वस्थ मह उत्पादनदेखि वातावरणीय सन्तुलन कायम राख्न पनि सेरेना जातको मौरी उत्कृष्ट मानिने उनको भनाइ छ। स्याउका बिरुवामा परागशेचनका लागि मुस्ताङका स्याउ किसानले पनि सोही उद्योगबाट मौरी लगेका उनले बताए। उनले मौरीपालन गर्न चाहने किसानलाई तालिम पनि दिन्छन्। उत्कृष्ट मौरीपालक किसानका रुपमा चिनिन्छन्।

विसं २०७३ मा राष्ट्रिय युवा परिषद्ले ५० हजार नगदसहित उनलाई सम्मानित गरेको थियो। मौरीलाई शरीरमा राखेर पनि उनी बेलाबेलामा चर्चामा आउने गरेका छन्। उनको उद्योगले गत वर्ष मह खाने प्रतियोगिता पनि आयोजना गरेको थियो।

‘बेगनास मौरीघार उद्योग’ नमुना मौरी स्रोत केन्द्रका रुपमा विकास हुँदै गएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए।

रामबहादुर थापा/रासस

प्रकाशित: २५ जेठ २०८१ २२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =