फिफा विश्वकप २०२६ : यूएईसँग भिड्दै नेपाल, उत्कृष्ट प्रदर्शनको आशा

हिमाल प्रेस २४ जेठ २०८१ ९:३८
फिफा विश्वकप २०२६ : यूएईसँग भिड्दै नेपाल, उत्कृष्ट प्रदर्शनको आशा फाइल तस्बिर

काठमाडौँ- फिफा विश्वकप-२०२६ अन्तर्गतको छनोट खेलमा नेपालले आज यूएईसँग खेल्दैछ।

विश्वकप छनोट अन्तर्गत नेपालले हाल दोस्रो चरण खेलिरहेको छ।

खेल नेपाली समयअनुसार बेलुका पौने १० बजे साउदी अरबको दम्माममा प्रिन्स मोहमद विन फहद स्टेडियममा सुरु हुनेछ।

दशरथ रंगशालामा विश्वकप छनोटका खेल हुन अयोग्य भन्दै दुबै खेल साउदी अरबमा हुने भएको हो। नेपालले खेल आयोजना गर्न नसक्ने भएपछि साउदी अरबले नेपालको यस खेल आयोजना गर्न स्वीकार गरेको हो।

नेपाल र यमनबीचको खेल पनि यही स्टेडियममा हुँदैछ। समूह ‘एच’ मा रहेको नेपालले यसअघि चारै खेलमा पराजय भोगेको थियो।

नेपाल यूएईसँग ४-० र यमनसँग २-० ले पराजित भएको थियो। त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५-० र दोस्रो खेल ३-० ले गुमाएको थियो।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यूएईविरुद्धको खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।

फिफा वरीयतामा यूएई ६७औँ स्थानमा छ भने नेपाल एक सय ७८औँ स्थानमा छ। नेपाली टोलीमा गोलरक्षक कप्तान किरण चेम्जोङ (कप्तान)सहित विशाल सुनार र अभिषेक बराल छन्।

त्यस्तै डिफेन्डरमा विमल पाण्डे, अभिषेक लिम्बू, अनन्त तामाङ, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई र रोहित चन्द छन्। यसैगरी मिडफिल्डरमा भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा र आशिष राई छन्।

फरवार्डमा जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान र आशिक बाबु चौधरी छन्।

प्रकाशित: २४ जेठ २०८१ ९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eight =