रोमानिया जाने नेपालीलाई नेपालमै भिसा दिने व्यवस्था गर्न श्रममन्त्रीको आग्रह

हिमाल प्रेस १ जेठ २०८१ १९:०९
66
SHARES
रोमानिया जाने नेपालीलाई नेपालमै भिसा दिने व्यवस्था गर्न श्रममन्त्रीको आग्रह

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि रोमानियाकी राजदूत डेनिएला मारियाना सेजोनोभ टेनेबीच भेटवार्ता भएको छ।

भेटमा रोमानिया र नेपालबीच श्रम लगायत आपसी हितका विषयमा छलफल भएको थियो। छलफलका दौरानमा श्रममन्त्री अर्यालले रोमानिया र नेपाल सरकारबीच श्रम सम्बन्धी समझदारी समेत भइसकेको र भिसाका लागि भारत जानु पर्दा नेपालीहरूलाई आर्थिक व्ययभार बढ्न जाने हुँदा नेपालबाटै रोमानियाको भिसा प्रदान गर्ने व्यवस्था मिलाइ दिन आग्रह गरे।

त्यस्तै श्रम सचिव घनश्याम उपाध्यायले नेपाली सवारी चालक अनुमतिपत्रलाई रोमानिया सरकारले समेत मान्यता दिन अनुरोध गर्दै रोमानियामा माग हुने रोजगारका क्षेत्रहरू अनुकूल हुने गरी नेपाली श्रमिकको सीप विकासका लागि सहकार्य गर्न आग्रह गरे।

राजदूत सेजोनोभले रोमानिया रोजगारदाताले नेपाली श्रमिकलाई रुचाएको र रोमानिया सरकारले पनि सहज र सरल प्रक्रियाबाट नेपाली श्रमिक भित्राउन चाहेको बताइन्। साथै रोमानिया नर्सिङ, निर्माण, हस्पिटालिटी लगायतका क्षेत्रमा नेपालीहरूको अत्याधिक माग रहेको कुरा समेत उनले बताइन्।

राजदूत सेजोनोभका अनुसार रोमानियाले गत जनवरीदेखि हालसम्म नेपाली युवाको लागि ७ हजार ८०० भिसा जारी गरेको छ। गत वर्ष ११ हजार ५०० नेपाली श्रमिक रोमानिया पुगेको उनले बताइन्। आगामी दिनमा यो संख्या झनै बढ्ने उनले दाबी गरिन्।

नेपाल र रोमानिया सरकारबीच सन् १९६८ को अप्रिल २० मा कूटनीतिक सम्बन्ध स्थापित भएको हो। नेपाल र रोमानिया सरकारबीच सन् २०२३ को अक्टोबर ६ मा श्रम सम्बन्धी समझदारी भएको हो। रोमानियामा करिब १० हजार नेपाली श्रमिक छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =