टी-२० श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा वेस्टइन्डिज पराजित

हिमाल प्रेस १५ वैशाख २०८१ १६:०४ | Saturday, April 27, 2024
टी-२० श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा वेस्टइन्डिज पराजित

काठमाडौँ- कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा नेपालले वेस्टइन्डिज ‘ए’लाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले वेस्टइन्डिज ‘ए’ लाई चार विकेटले पराजित गरेको हो।

जितका लागि दुई सय पाँच रनको लक्ष्य पच्छाएको नेपाल दुई बल बाँकी छँदै ६ विकेट गुमाएर विजयी भएको हो। नेपालका लागि कप्तान पौडेलले सर्वाधिक एक सय १२ रनको योगदान दिए। उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरे। यसैगरी दिपेन्द्रसिंह ऐरीले २४, कुशल भुर्तेलले १६, कुशल मल्लले १६, गुल्शनकुमार झाले अविजित नौ तथा विवेक यादवले सात रन जोडे।

बलिङतर्फ वेस्टइन्डिजका ओबेद म्याककोय र म्याथ्यु फर्डले दुई दुई तथा किमो पलले एक विकेट लिए। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ‘ए’ले निर्धारित २० ओभर पाँच विकेट गुमाउँदै दुई सय चार रन बनाएको थियो।

वेस्टइन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेशले सर्वाधिक ७४ रनको योगदान दिए। उनले ४६ बलमा नौ चौका र दुई छक्का प्रहार गरे। यसैगरी एलिक एथानाजेले २५ बल खेल्दै ४७ रन जोडे। उनले यस क्रममा पाँच चौका र तीन छक्का हाने। यस्तै केसी कार्टीले ३८ तथा कदीम एलियनले १५ रन बनाए।

बलिङतर्फ नेपालका अभिनाश बोहोरा, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिए। नेपालले वेस्टइन्डिज ‘ए’विरुद्ध आइतबार दोस्रो खेल खेल्नेछ।

प्रकाशित: १५ वैशाख २०८१ १६:०४ | Saturday, April 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast