यू-१९ महिला क्रिकेट : बागमतीको पहिलो जित, कोशीमाथि २३ रनको विजय

हिमाल प्रेस २५ जेठ २०८३ २०:४४ | Monday, June 8, 2026
18
SHARES
यू-१९ महिला क्रिकेट : बागमतीको पहिलो जित, कोशीमाथि २३ रनको विजय

सुर्खेत- सुर्खेतमा जारी यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले पहिलो जित दर्ता गरेको छ। लगातार दुई खेलमा पराजित भएको बागमतीले आफ्नो तेस्रो खेलमा कोशी प्रदेशलाई २३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो सफलता हात पारेको हो।

कालुङचोक मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६९ रनको प्रतिस्पर्धात्मक योगफल तयार पार्यो। प्रतियोगितामा हालसम्मकै उच्च स्कोर समेत रहेको उक्त इनिङ्समा ओपनर सेविकाकुमारी यादव र प्रथा श्रेष्ठले शानदार ब्याटिङ प्रदर्शन गरे।

दुवैले पहिलो विकेटका लागि १४.३ ओभरमा १२३ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए। सेविकाले ४७ बलमा ११ चौकाको मद्दतमा ६६ रन बनाइन्। उनलाई टीका शाहीको बलमा शुभेक्षा लिम्बूले क्याच आउट गरिन्।

त्यसपछि प्रथा श्रेष्ठले पनि उत्कृष्ट प्रदर्शन गर्दै ४८ बलमा ११ चौकासहित ६१ रन जोडिन्। उनी खिमकला घिमिरेको बलमा बोल्ड भइन्।

१७० रनको लक्ष्य पछ्याएको कोशीले केही समय संघर्षपूर्ण ब्याटिङ गरे पनि लक्ष्य भेट्टाउन सकेन। कोशीका लागि प्रिन्सा राना मगरले ४१, टीका शाहीले ३७ तथा पूर्णिमा राजवंशीले २० रन बनाए। तर अन्य ब्याटरले उल्लेखनीय योगदान दिन नसक्दा टोली १४६ रनमै समेटियो।

कोशीले अतिरिक्तमार्फत ३३ रन प्राप्त गरे पनि त्यसको पर्याप्त लाभ उठाउन नसक्दा २३ रनको हार व्यहोर्न बाध्य भयो।

यस जितसँगै बागमतीले दुई अंक जोड्दै अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ।

प्रकाशित: २५ जेठ २०८३ २०:४४ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast