
काठमाडौँ- सरकारका मन्त्रीहरूले आफूले गरेको कामको प्रधानमन्त्रीसमक्ष दैनिक रूपमा बिफ्रिङ गर्नुपर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूले दैनिक रूपमा गरेको कामको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्ने निर्णय गरेको हो।
राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसबारे जानकारी दिएका हुन्।
उनले मन्त्रीहरूले हरेक दिन कुन काम राम्रो र ठूलो गरेका हुन् भन्ने कुराको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्नुपर्ने निर्णय भएको उनले जानकारी दिए। उनले यसो गर्दा मन्त्री र कर्मचारीहरूलाई काम गर्न जागरुक बनाउने बताए।
प्रधानमन्त्री दाहालले सरकारले गरे अनुरूपको तदारुकता र दृढताका साथ प्रशासन र कर्मचारीहरूले गर्न नसकेको भन्दै यस विषयको कारण खोजी गर्नुपर्ने बताए। उनले कर्मचारी र राजनीतिक तहले काम गर्ने साझा रूपमा प्रयास गर्नुपर्ने बताए।