एमालेले भन्यो : कांग्रेसको चरित्र ठिक देखिएन

हिमाल प्रेस ११ चैत २०८० १५:३५ | Sunday, March 24, 2024
एमालेले भन्यो : कांग्रेसको चरित्र ठिक देखिएन प्रदीप ज्ञवाली/फाइल तस्बिर

काठमाडौँँ – सत्तासाझेदार दल नेकपा (एमाले)ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका विषयमा नेपाली कांग्रेसले द्वैध चरित्र देखाएको आरोप लगाएको छ।

आइतबार च्यासलमा पार्टी सचिवालयको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन सत्ता गठबन्धन तोडेपछि कांग्रेसले नै लामिछानेलाई प्रधानमन्त्रीको ‘अफर’ गरेको बताए। तर, अहिले उनी गृहमन्त्री बन्दा राजीनामा माग्नु राजनीतिक प्रतिशोध भएको ज्ञवालीको भनाइ छ।

‘प्रधानमन्त्रीका निम्ति आफैँले प्रस्तावित गरेको मान्छे गृहमन्त्रीको रूपमा अयोग्य हुन्छ भन्ने तर्क राजनीतिक प्रतिशोधको तर्कबाहेक अरू केही हुन सक्दैन,’ उनले भने, ‘भोलि कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भयो भने नैतिक रूपमा छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्छ।’

अहिलेसम्म लामिछानेविरुद्ध नियामक निकायमा औपचारिक रूपमा मुद्दा दायर नभएको र छानबिनका निम्ति नबोलाइएको ज्ञवालीले बताए।

लामिछानेका विषयमा कांग्रेसले गरेको माग राजनीतिक पूर्वाग्रले ग्रसित भएको उनले टिप्पणी गरे। लोकतन्त्रको हिमायती भन्ने कांग्रेसले संसद् अवरोध गर्न नसुहाउने उनको भनाइ छ।

कांग्रेसले लामिछानेका विषयमा छानिबन समिति बनाउनुपर्ने, उनले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ।

प्रकाशित: ११ चैत २०८० १५:३५ | Sunday, March 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast