गृहमन्त्रीले भने– राजीनामा पत्र झोलामै छ, काम गर्न नसके राजीनामा दिन्छौँ

हिमाल प्रेस ११ चैत २०८० १५:०४
14
SHARES
गृहमन्त्रीले भने– राजीनामा पत्र झोलामै छ, काम गर्न नसके राजीनामा दिन्छौँ

काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनताका लागि केही काम गर्न सकिने आशासहित सत्तामा गएको बताएका छन्।

फागु पूर्णेका अवसरमा आइतबार चितनवको खैरहनीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

‘चुनावका बेला बोलेका कुरा हामीले छाडेका छैनौँ। हामीले नागरिकका मुद्दाबाहेक कसैको मुद्दा कोबेको छैनौँ। हामीले कसैलाई जोगाउन फसाउन र बचाउनु छैन’, उनले भने, ‘हामी सरकारमा गएपछि केही परिणाम देखिँदैछन्। ट्रेलर देखिँदैछन्, हामी फिल्म पनि देखाउँछौँ।’

उनले कुनै पनि दलको पक्षमा बहुमत जनमत नभएकाले पनि सरकारमा गएर जनताको काम गर्न सकिने निष्कर्ष निकालिएको बताए।

‘जनमत त्यस्तै छ, एउटा कुनै दलको बहुमत नभएको अवस्थामा सरकारमा पुगेर जनताको सेवा गर्न सकिन्छ भने किन जोखिम नमोल्ने भन्ने भएको छ’, उनले भने, ‘यो चार वर्षमा हामीले बेथिति टुलुटुलु हेरेर बस्न सक्दैनौँ भनेको हो। गर्न बाँकी काम धेरै छन्। हामी काम गरेर देखाउँछौँ।’

उनले देशमा धेरै धुलो रहेको पनि बताए। ‘धुलो र फोहोर धेरै छ। धेरै छिटो हिँड्नु भएको छैन लडिन्छ’, उनले भने, ‘माछा दुई किसिमका छन्, किसानका माछा र ठूलामा माछा हामीले दुवैको टेक केयर गर्नेछौँ। माछा मिठो तर खाँदा काँडा अड्किने पनि हुन्छ। त्यसैले हामीले होस गरेर यी दुवै माछाबारे काम गर्नुछ।’

लामिछानेले जनतालाई सुशासन दिनुपर्ने बताए। ‘कानुन पल्टाउनुस् गृहमन्त्रीको आदेश चाहिँदैन। तस्कर गुन्डा र अपराधीलाई समात्न गृहमन्त्रीको आदेश चाहिँदैन’, उनले प्रहरी अधिकारीहरूलाई भने, ‘कानुनले जे भन्छ त्यही हुन्छ। बर्दी लगाएर बसेका प्रहरी अधिकारीलाई अधिकार दिएको छु।’

उनले बेइमानीको बाटो हिँड्दा केही नहुने बताउँदै तर आफूहरू इमानको बाटो हिँड्दा तनाव नै तनाव रहेको बताए।

‘सरकारमा जानु हाम्रा लागि नागरिकको सेवाको अवसर हो’, उनले भने, ‘बाटो लामो छ। काम गर्न नसक्दा हामी सत्तामा टाँसिएर बस्दैनौँ, झोलामा राजीनामा पत्र बोकेका छौँ।’

प्रकाशित: ११ चैत २०८० १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast