प्रचण्डको ब्रिफिङ : कांग्रेससँग पिल्सिएर बस्न सकेनौँ

हिमाल प्रेस २१ फागुन २०८० १२:१३
100
SHARES
प्रचण्डको ब्रिफिङ : कांग्रेससँग पिल्सिएर बस्न सकेनौँ

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका कारण सत्ता समीकरण बदल्नुपरेको बताएका छन्। प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पार्टी सचिवालयको सोमबार बालुवाटारमा बसेको बैठकमा देउवामाथि विभिन्न आरोप लगाउँदै एमालेसँग गठबन्धन गर्नुपरेको जानकारी गराएको माओवादीका एक नेताले बताएका हुन्।

प्रचण्डले सरकारमा आफैँ नेतृत्व गरेर पिल्सिएर बस्नुपरेको अवस्थाबाट उन्मुक्ति पाउने प्रयासमा नयाँ गठबन्धन गरिएको बताए। कांग्रेससँग अलग हुनुमा माओवादीले विभिन्न आरोप लगाएका छन्।

देउवामाथि प्रचण्डले लगाएको पहिलो आरोप हो, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा लचिलो नहुनु। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ संसद्‌मा विचाराधीन छ। विधेयक पारित गराउन आफूले गरेको पहलमा देउवा लचक नबनेको प्रचण्डको आरोप छ।

संक्रमणकालीन न्याय टुंगोमा पुग्न नसक्दा माओवादी बढी दबाबमा छ। एक दशक लामो हिंसात्मक विद्रोहको नेतृत्वकर्ताका साथै विस्तृत शान्ति सम्झौता गर्दै पटकपटक सत्तामा रहेर पनि न्याय प्रक्रिया टुंगोमा नपुग्दा माओवादी दबाबमा परेको हो। द्वन्द्व पीडितले माओवादी शीर्ष नेताहरूलाई पीडकका रूपमा लिएका छन्।

माओवादीले लगाएको अर्को आरोप हो, कांग्रेसबाट सहभागी मन्त्रीहरूले कार्यसम्पादन राम्रो नगर्दा पनि मन्त्रीहरूको बचाऊमा देउवा लागिरहनु। कांग्रेसबाट प्रतिनिधित्व गरेका अर्थमन्त्री डा. प्रकाशरण महत, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलगायतका कार्यशैलीमा प्रचण्ड सन्तुष्ट छैनन्। मन्त्री फिर्ता बोलाउन पटकपटक गरेको आग्रहलाई देउवाले चासो नदिएको प्रचण्डको भनाइ छ।

माओवादीले लगाएको तेस्रो आरोप हो, देउवाले सरकारमा निरन्तर हस्तक्षेप गरिरहेको र कर्मचारी सरुवाबढुवा तथा नियुक्तिमा पनि विशेष चासो दिने गरेको। प्रचण्डले बैठकमा सरकारले देउवाकै कारण कतिपय काम गर्न नसकेको बताएका छन्। उनले भनेका छन्, ‘देउवा र उहाँको आसेपासेको बढी नै चलखेल हुन थाल्यो। सरकारले चाहेजसरी कुनै पनि कामकारबाही अघि बढ्न सकेन।’

प्रचण्डको अर्को आरोप छ, अर्थमन्त्री महतले मनोमानी गरे। नेपाली कांग्रेसबाट प्रतिनिधित्व गरेका अर्थमन्त्री महतले आफूलाई नटेरेको गुनासो बैठकमा प्रचण्डले गरेका छन्। उनले भनेका छन्, ‘अर्थमन्त्रीलाई चलाउनै नहुनेमा पक्षमा हुनुहुन्छ देउवा। अर्थमन्त्रीलाई चलायो भने गठबन्धन नै अपवित्र हुन्छ भन्ने आशय देउवाको रह्यो।’

माओवादी सचिव गणेश साहले सचिवालय बैठकमा कांग्रेस-माओवादी गठबन्धनका बारेमा समीक्षा भएको बताए। उनले नयाँ गठबन्धनका बारेमा नेताहरूले आआफ्ना धारणा राखेको पनि जानकारी दिए।

प्रकाशित: २१ फागुन २०८० १२:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast