छोम्रोङमा ‘सेञ्चुरी ल्होछार मेला’

हिमाल प्रेस १२ पुष २०७९ ९:५०
4
SHARES
छोम्रोङमा ‘सेञ्चुरी ल्होछार मेला’ साकेला नाच्दै किराँत समुदाय। फाइल तस्बिर

कास्की- कास्कीको अन्नपूर्ण गाउँपालिका–११ छोम्रोङमा २१औँ सेञ्चुरी ल्होछार मेला सुरु भएको छ। सेञ्चुरी युवा क्लबको आयोजनामा यही १४ गतेसम्म मेला सञ्चालन हुनेछ।

मेलाका संयोजक राजकुमार गुरुङका अनुसार मेलाअन्तर्गत खेलकुद प्रतियोगिता आजदेखि सञ्चालन हुनेछन्। प्रतियोगितामा पुरुष भलिबल तथा बास्केटबल विजेता टिमलाई ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने दोस्रो र तेस्रो हुने टिमले क्रमशः ३० हजार र १८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

त्यस्तै ‘थ्री अन थ्री’ पुरुष बास्केटबलतर्फ विजेताको टिमले २५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले १५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।

मेलाको शुभारम्भ समारोहमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दामोदर पौडेल बैरागीले मेलाले पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने बताए। केन्द्रीय विद्युत् प्रसारणको लाइन र फोरजी सेवालाई अन्नपूर्ण आधार शिविरसम्म पुर्‍याउने उनले प्रतिबद्धता व्यक्त गरे।

गण्डकी प्रदेशका निवर्तमान सांसद राजीव पहारीले हरेक वर्ष आयोजना हुने मेलाको गरिमा फरक रहेको बताउँदै निरन्तरता दिन आग्रह गरे। अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले ल्होछार मेलाले पर्यटन प्रवद्र्धन मात्र नभई तमुहरूको कला तथा संस्कृतिको पनि जगेर्ना गर्ने बताए।

उक्त अवसरमा पोखरा सम्पन्न फिस्टेल म्याराथनमा द्वितीय स्थान हासिल गरेका अन्नपूर्ण गाउँपालिका–११ का सचिन गुरुङलाई गाउँपालिका र क्लबको तर्फबाट सम्मान गरिएको थियो।

कार्यक्रममा क्लबका अध्यक्ष मिकास गुरुङ, मेला संयोजक राजकुमार गुरुङ, पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङलगायतले मेलाले यस क्षेत्रको पर्यटन र संस्कृति जर्गेनामा गर्ने योगदानको चर्चा गरे।

प्रकाशित: १२ पुष २०७९ ९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =