स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार : प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध मुद्दा

हिमाल प्रेस ११ माघ २०८० १५:२१ | Thursday, January 25, 2024
स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार : प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा एक गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीसहित पाँचजनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्स एन्ड सप्लायर्स राजविराजका प्रोप्राइटर ललिताकुमारी साहविरुद्ध मुद्दा दायर भएको हो।

अख्तियारले प्रशासकीय अधिकृत चौधरीसहित पाँचजनाले ८ लाख ७४ हजार ३ रुपैयाँ भ्रष्टाचार गरी सरकारलाई हानिनोक्सानी पुर्‍याएको आरोप लगाएको छ। गाउँ कार्यपालिकाको मिलेमतोमा सिलबन्दी दरभाउपत्रका माध्यमबाट खुद्रा मूल्यभन्दा दुईगुणा बढी रकममा प्याड खरिद गरेको भन्ने उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो।

९ लाख ११ हजार ९२५ रकम पर्ने जस्मिन हाइजिन प्रोडक्ट प्रालिको प्याडलाई १७ लाख ८५ हजार ९२८ रुपैयाँमा खरिद गरेको देखाएर भ्रष्टाचार गरेको अख्तियारले उल्लेख गरेको छ।

प्रकाशित: ११ माघ २०८० १५:२१ | Thursday, January 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast