टाइगर कप : गण्डकी र टिप टप हेल्प नेपाल फाइनलमा

हिमाल प्रेस ५ माघ २०८० १६:५२ | Friday, January 19, 2024
टाइगर कप : गण्डकी र टिप टप हेल्प नेपाल फाइनलमा

पोखरा- साविक विजेता गण्डकी प्रदेश भलिबल संघ र टिप टप हेल्प नेपाल स्पोर्टस् क्लब चौथो टाइगर कप भलिबल प्रतियोगितामा फाइनल प्रवेश गरेका छन्।

पोखरा रंगशालाको भलिबल कोर्टमा शुक्रबार पुरुषतर्फ दोस्रो सेमिफाइनलमा घरेलु टोली गण्डकीले एपिएफ क्लबलाई सोझो सेटमा हराउँदै फाइनल पुगेको हो। दर्शकको अपार साथ पाएको घरेलु टोलीले एपीएफलाई दबाबमा राख्दै २५–१७, २५–२० र २५– २२ मा पराजित गरेको हो।

पहिलो सेमिफाइनलमा विदेशी टिम श्रीलंका आर्मीलाई ३–१ सेटमा हराउँदै हेल्प नेपाल स्पोर्टस् क्लब फाइनलमा प्रवेश गरेको हो। उसले पहिलो सेट १८–२५ मा गुमाए पनि पछिल्ला सेट २५–१४, २५–१८ र २६–२४ मा जितेको हो।

गण्डकी पहिलो र तेस्रो संस्करणको विजेता हो भने टिप टप पहिलो पटक फाइनलमा पुगेको हो। महिलातर्फ तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा विभागीय त्रिभुवन आर्मी क्लब विजयी भयो। आर्मीले अर्को विभागीय क्लब नेपाल पुलिसलाई २५–१७, १८–२५,२५–२० र २५–१९ मा पराजित गरेको हो।

आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अनुसार शनिबार महिला तथा पुरुष दुवैको फाइनल हुनेछ। महिलातर्फ एपिएफ र न्यू डायमण्ड फाइनल पुगिसकेका छन्। एपिएफ पछिल्ला २ संस्करणको उपाधि विजेता हो।

ऊ उपाधिमा ह्याट्रिक दाउमा हुँदा डायमण्ड पहिलो जितको खोजीमा हुनेछ। महिलातर्फ पहिलो संस्करण नेपाल पुलिसको पोल्टामा परेको थियो। शनिबार नै फाइनलअघि पुरुषतर्फ तेस्रो स्थानका लागि श्रीलंका आर्मी र एपिएफ प्रतिस्पर्धा गर्ने छन्।

महिलातर्फ ६ र पुरुषतर्फ ६ गरी १२ टिमले भाग लिएको प्रतियोगितामा विजेताले ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन्। तेस्रोले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने प्रचारप्रसार संयोजक इन्द्रप्रसाद पौडेलले बताए।

सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही २५ हजार ५ सय ५५ सहित सिल्ड, मेडल र प्रमाणपत्र दिइनेछ। साथै विधागत पुरस्कार पनि व्यवस्था छ।

प्रकाशित: ५ माघ २०८० १६:५२ | Friday, January 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast