काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धनलाई देशद्रोही भन्दै गम्भीर आरोप लगाएका छन्। पार्टीनिकट नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले गठबन्धन दलहरू भ्रष्टाचारी र तस्करीको संरक्षक भएको आरोप लगाएका हुन्।
‘गठबन्धनमा भएका सबै लोभिपापीहरू हुन्। यिनीहरूको घाँटी मात्र होइन सिंगै शरीर जोडिएको छ,’ उनले भने, ‘यी एकै वंश, एकै नश्लका हुन्। यिनको गोत्र निकम्मा हो। यिनको जात देशद्रोही हो। यिनीहरू एकै ठाउँमा बस्छन्।’
उनले गठबन्धन गरेर बनेको सरकारलाई तरकारी बारीको बुँख्याँचासँग पनि तुलना गरे।
‘गठबन्धनमा रहेका हाम्रा विरोधी कोही पनि हामीसँग एक्लै भिड्ने आँट गर्दैनन्। सबै जोडेर सरकार बनाएका छन्। सरकार तरकारी बारीको बुख्याँचा जस्तो छ। अहिले त्यसका टाउकामा सुगा पनि बस्छ, काग पनि बस्छ। किनभने सबैले चिनिसके यसले केही गर्दैन,’ ओलीले भने, ‘यो सरकार निकम्मा मात्र होइन भ्रष्टाचारको संरक्षक, तस्करीको संरक्षक, कमिसनखोरीको आयोजक र संरक्षक हो।’
उनले देशको अवस्था बर्बादीतिर गइरहेकोले आन्दोलनको तयारीमा रहन पनि आग्रह गरे।
उनले भने, ‘हामीले जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने र देश बर्बाद हुनबाट जोगाउनुपर्ने अवस्था छ। त्यसअघि सशक्त रुपमा हामीले आफूलाई सुसंगठित गर्नुपर्नेछ। पार्टीले जति बेला सिट्ठी बजाउँछ त्यति बेला आन्दोलनका मैदानमा दौडिएर पुग्नेगरी तयारी अवस्थामा रहनुहोला।’
उनले आन्दोलनका छिटै भइहाल्ने पनि संकेत गरे। ‘हामीलाई धेरै दिनको समय नहुन सक्छ। छोटो ३ दिनको तयारीमा हामी राष्ट्रिय आन्दोलनमा उत्रिनुपर्ने हुनसक्छ,’ उनले भने, ‘अहिले हामी निर्णायक लडाइँ लडिरहेका छौं। उनीहरूले जस्तोसुकै प्रहार गर्न सक्ने अवस्था छ। उनीहरू आतंकित छन्। एक्लै लड्न सक्दैनन्। हामी एक्लै ८० सिट ल्याउँछौँ। उनीहरू एक्लै भए भने २०/३० सिट पुऱ्याउने कोही हुँदैन। समानुपातिकको भोट नहुने हो भने यिनीहरूको बेहाल हुन्छ।’