हिमाल आइरनले तिर्‍यो २७ लाख विद्युत् बक्यौता

हिमाल प्रेस १७ पुष २०८० ७:३५
40
SHARES
हिमाल आइरनले तिर्‍यो २७ लाख विद्युत् बक्यौता

काठमाडौँ- बारा-पर्सा औद्योगिक कोरिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एन्ड स्टिलले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् खपत गरेबापत गरिएको छुट बिलको बक्यौता रकम तिर्न सुरु गरेको छ।

आठ करोड १२ लाख रुपैयाँ बक्यौतामध्ये हिमाल आइरनले आज पहिलो किस्ताबापत २७ लाख १० हजार रुपैयाँ बुझाएको नेपाल विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।

उप कार्यकारी निर्देशक सिलवालले उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएपछि सोमबार रातको सवा ९ बजे विद्युत् लाइन जोडिएको उल्लेख गरे। प्राधिकरणले उद्योगको लाइन शुक्रवार काटेको थियो । उद्योगले ३६ किस्तामा बक्यौता रकम तिर्नेछ।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्तालाई छुट बिलिङ गरिएको विद्युत् खपतको महसुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा सोमबार साँझ बसेको प्राधिकरण सञ्चालक समिति (बोर्ड)को बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्थालाई बढाएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जति महिनाको छुट बिल जारी गरिएको त्यति नै महिनाको वा बढीमा ६० महिनाको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था बोर्डबाट गरिएको जानकारी दिए। गोरखापत्र दैनिक

प्रकाशित: १७ पुष २०८० ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + four =