प्रहरी जवानको तलब भत्ता हिनामिना गर्ने पूर्वडीआईजी महेशविक्रम दोषी ठहर

हिमाल प्रेस ११ पुष २०८० १९:२२ | Wednesday, December 27, 2023
प्रहरी जवानको तलब भत्ता हिनामिना गर्ने पूर्वडीआईजी महेशविक्रम दोषी ठहर

काठमाडौँ– नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहसहित चार जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। आज बुधबार विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले शाहसहित चारजनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

शाह सिन्धुलीको दुधौली तालिम केन्द्रका तत्कालीन समादेशकसमेत हुन्। मध्यक्षेत्रीय तालिम केन्द्र दुधौली, सिन्धुलीमा रहँदा उनीसहित चार जनाले प्रहरी जवानको तलब भत्ता कीर्ते दस्तखत गरी हिनामिना गरेको आरोप लागेको थियो।

यो प्रकरणमा लेखापाल एवम् पूर्वप्रहरी नायव निरीक्षक दिपेन्द्रप्रसाद पनेरु, केशव सिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जीव बिशंखेलाई अदालतले दोषी ठहर गरेको हो। यससँगै अब उनीहरूविरुद्धको सजाय निर्धारणका लागि पेस गर्न पनि अदालतले आदेश दिएको छ।

पूर्वडीआईजी शाहसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ फागुनमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

उनीहरूले तालिम केन्द्रमा सरुवा भई आएका १०३ जना प्रहरी जवानको २०७२ माघ र फागुन महिनाको तलब भत्ता ३१ लाख ८८ हजार ४ सय ६८ रुपैयाँ हिनामिना गरेको आरोप थियो। त्यस्तैर १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानको ०७२ साल माघमा २ दिनको तलब १ लाख ४९ हजार ६१६.८८ रुपैयाँ गरी ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा तलबी भरपाइमा कीर्ते दस्तखत गरी हिनामिना पुष्टि भएको अख्तियारको दाबी थियो।

अख्तियारले उनीहरूविरुद्ध ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।

प्रकाशित: ११ पुष २०८० १९:२२ | Wednesday, December 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast