‘सरकारमा हुनेहरू छिमेकीले चित्त दुखाउँछ कि दुखाउँदैन भनेर डराउनुहुँदैन’

हिमाल प्रेस ८ पुष २०८० १५:०३ | Sunday, December 24, 2023
‘सरकारमा हुनेहरू छिमेकीले चित्त दुखाउँछ कि दुखाउँदैन भनेर डराउनुहुँदैन’

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवाहरू देशमा नबस्नु ठूलो चुनौती भएको बताएका छन्। आइतबार झुलाघाट–चिवाभञ्याङ यात्राबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले युवाहरूलाई देशमै बस्ने वातावरण बनाउनु चुनौती रहेको बताए।

‘सबैभन्दा ठूलो चुनौती युवाहरू देशमा नबस्ने र जनसंख्या नै बसाइँ सर्ने,’ ओलीले भने, ‘युवाहरू नभएपछि अरु के गरेर बस्ने त्यहाँ ? खेती नभएपछि वन भइहाल्छ।’ उनले पार्टीका सभामा पनि युवाहरूको उपस्थिति ४० प्रतिशत मात्रै देखिएको बताए। ‘हाम्रा सभाहरूमा पनि युवाहरूको संख्या ४० प्रतिशत हो कि जस्तो। युवाहरू कमै देखिने,’ उनले भने।

उनले मध्यपहाडमा विकास, बाटो, खानेपानी पनि पुर्‍याइए पनि बसाइँसराइ भइरहेको बताए। मध्यपहाडमा अहिले भइरहेको गतिविधि रोक्न नसके देशको भविष्य नै अफ्ठ्यारोमा पर्ने बताए। ‘बसाइँ सर्दै जाने, त्यहाँको कारोबार कम हुँदै जाने हो भने देशको भविष्य अफ्ठ्यारोमा पर्ने देखिन्छ,’ उनले भने।

तथापि, मानिसहरू आशावादी रहेको उनले बताए। कृषिको आधुनिकरण र व्यवसायिकता कसरी गर्न सक्ने भन्ने छलफल गरिएको जानकारी दिए। ओलीले नेपालको विकासमा छिमेकीले अवरोध गर्नु दुखद्‌ भएको पनि बताए।

‘हाम्रो विकास हामीले निर्वाध ढंगले गर्न पाउनुपर्छ। कालो बिरालोले होस् कि सेतो बिरालोले होस् विकास गर्नुपर्छ,’ ओलीले भने। ओलीले छिमेकीसँग सुमधुर सम्बन्ध राख्नुपर्ने पनि बताए। तर, प्राथमिकता र आवश्यकताका आधारमा अघि बढ्नुपर्ने उनको भनाइ छ।

‘भारतले सहयोग गरोस् कि चीनले गरोस्। अमेरिकाले गरोस् कि राम्ररी नेपाललाई हित हुने, नेपालका प्राथमिकता, आवश्यकता,’ उनले भने, ‘जसले बढी ऋण लिन्छ त्यो दिने। जसले बढी अनुदान दिन्छ त्यो लिने।’

ओलीले छिमेकीले चित्त दुखाउँछ कि दुखाउँदैन भनेर सत्ता केन्द्रित भएर हेर्न नहुने बताए। ‘छिमेकीले चित्त दुखाउँछ कि दुखाउँदैन भनेर पहिले नै डराउनुहुँदैन। सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्र हो,’ ओलीले भने।

प्रकाशित: ८ पुष २०८० १५:०३ | Sunday, December 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast