प्रधानमन्त्रीले गरे ‘एक्सन रुम’ बाटै नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकको निरीक्षण

हिमाल प्रेस २ पुष २०८० १७:४० | Monday, December 18, 2023
प्रधानमन्त्रीले गरे ‘एक्सन रुम’ बाटै नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकको निरीक्षण

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रूम’बाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको ‘भर्चुअल’ निरीक्षण गरेका छन्।

आज दिउँसो सिंहदरबारबाट प्रधानमन्त्रीले निर्माणाधीन दुई सडकखण्डका बारेमा जानकारी लिए। निरीक्षणपछि प्रधानमन्त्रीले भने, ‘हाम्रा परियोजना भनेजस्तो जस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्नेगरी कामको प्रगति भएन। यसबाट सन्तुष्ट हुनसक्ने अवस्था देखिँदैन। यसतर्फ हाम्रो भूमिका गुणात्मकरूपले बढाउनुपर्छ।’

गिटी, बालुवा ढुङ्गा, विद्युतका सानातिना समस्या सरकारले शीघ्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘फिल्डका कार्यालयले समयमै सम्बन्धित ठाउँमा नियमित प्रतिवेदन गर्नुपर्‍यो। समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ। दिनहुँ जनताले समस्या भोग्नुपर्ने समस्या अन्त्य हुनुपर्छ।’

परियोजनाहरू निर्धारित लक्ष्यअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिँदै उनले तोकिएको समयमा नै आयोजना सम्पन्न गर्न निर्देशन दिए। विविध कारण देखाएर निर्माणमा विलम्ब भयो भन्न नपाइने उनको भनाइ छ।

प्रधानमन्त्रीले थपे, ‘यी दुई परियोजना अत्यन्तै महत्त्वपूर्ण छन्। समयमै सकिनुपर्छ, म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु।’

अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट कसैलाई नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका योजनामा काम दुई सिफ्टमा गराउनुपर्ने र यसका लागि गम्भीर गृहकार्य गर्न आग्रह गरे। ‘यो काम गर्ने अन्तिम अवसर हो। सबैले एकपटक सदुपयोग गरौँ’ उनले थपे।

प्रकाशित: २ पुष २०८० १७:४० | Monday, December 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast