नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

हिमाल प्रेस १ पुष २०८० १३:५५ | Sunday, December 17, 2023
नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने नारायणगढ-मुग्लिन सडक। फाइल तस्बिर।

चितवन- नारायणगढ-मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ। सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले आगामी शनिबारदेखि सवारीसाधन बन्द गर्न लागिएको हो।

बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागिएको नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का सूचना अधिकारी ई.कृष्ण आचार्यले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा तीन हप्ताका लागि सडक रोकेर भित्तो काटिने छ।

गत वर्ष सो ठाउँमा पुल निर्माणका लागि भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो। विस्फोटको अन्तिम तयारी हुँदै गर्दा पुनः एकपटक सडक रोकेर काट्ने तयारी गरिएको हो।

शनिबार कुरिनटारमा चितवन, गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा बसेको अन्तर जिल्ला बैठकले सडक रोकेर काम गर्ने निर्णय गरेको हो। सूचना अधिकारी आचार्यका अनुसार ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको छ। बाँकी ३५ मिटर ‘रक स्पिलटर’ र ‘हाइड्रोलिन ज्याक हेम्भर’ प्रयोग गरेर फोर्ने तयारी गरिएको छ।

उनले भने,‘टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गर्दैछौँ।’ यसबाट पनि फोर्न नसकिएमा अन्तिम विकल्पका रूपमा विस्फोट गराइने उनले जानकारी दिए। सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो। बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो।

अन्य कतिपय निर्माण सम्पन्न भएका छन् भने कतिपय अन्तिम चरणमा छन्। यो पुल भित्तो भत्काउन नसक्दा काम थाल्न सकिएको छैन। उनको भनाइमा काली, नम्सी, रिग्दी, सिमलताल, भोर्ले, खोर, खहरे र जुगेडी पुल दुई महिनाभित्रमा सञ्चालनमा आउनेछन्।

चारवटा एक महिनामै सञ्चालनमा आउने बताए। आठवटै पुल सञ्चालनमा ल्याउन दुई महिना लाग्ने उनले जानकारी दिए। ती पुलको पहुँचमार्ग बनाउने र रङरोगनलगायतका काम भइरहेको छ।

प्रकाशित: १ पुष २०८० १३:५५ | Sunday, December 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast