सुन्तला खेतीबाट बर्सेनि २५ लाख कमाउँछन् तनहुँका रामबहादुर

हिमाल प्रेस १० मंसिर २०८० ९:०२ | Sunday, November 26, 2023
सुन्तला खेतीबाट बर्सेनि २५ लाख कमाउँछन् तनहुँका रामबहादुर

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक निवासी रामबहादुर थापा पछिल्लो समय सुन्तला खेतीमा व्यस्त छन्। कृषि प्रसार अधिकृतका रूपमा सेवानिवृत्त भएदेखि उनी पूर्णरूपमा सुन्तला खेतीमा लागेका हुन्।

५६ वर्षीय थापाले ५६ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा सुन्तला खेती गरेका छन्। चार सय बोट सुन्तलाबाट बर्सेनि २५ लाख रुपैयाँ बढी आम्दानी भइरहेको उनले जानकारी दिए। सुन्तला खेतीमार्फत आम्दानी गर्दै आएका थापा कृषिविज्ञ पनि हुन्।

उनले भने,‘३५ वर्ष सरकारको कृषि प्रसार अधिकृतका रूपमा काम गरेर सेवानिवृत्तपश्चात पुर्ख्याैली पेसा सुन्तला खेतीमा आफूलाई समाहित गरी निरन्तर अगाडि बढेको छु। सुन्तला खेतीबाट आम्दानी भइरहेको छ,यसमा सन्तुष्ट छु।’

यस वर्षको सुन्तलाको ठेक्का २५ लाखमा काठमाडौँका व्यापारीलाई दिएको उनले बताए। उनले भने,‘उमाचोकका किसानले व्यापारीलाई सिधै ठेक्कामा सुन्तला बिक्री गर्ने गरेका छन्। यसले गर्दा सहज भएको छ।’

तीन फिटको खाल्डो खनेर, पाँच मिटरको दूरीमा बिरुवालाई मलजल गरी सार्न सके छिटो उत्पादन हुनसक्ने उनको सुझाव छ।उनले भने,‘कृषिमै काम गरेकाले यसबारेमा मलाई अलि बढी जानकारी छ। किसानलाई पनि सुन्तला खेतीको तरिकाबारे सिकाउने गरेको छु।’

जिल्लाका अन्य ठाउँमा गितसिला नामको कीरा तथा ग्रिनिङबाट बोट नष्ट भए पनि आफूले आजसम्म बोट रोगमुक्त बनाउन सकेको उनको भनाइ छ। रासस

प्रकाशित: १० मंसिर २०८० ९:०२ | Sunday, November 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast