३ पुस्ताको छैन नागरिकता : न बैंक खाता, न रोजगारी

हिमाल प्रेस ९ मंसिर २०८३ ७:२५ | Wednesday, November 25, 2026
३ पुस्ताको छैन नागरिकता : न बैंक खाता, न रोजगारी

काठमाडौँ- पम्फा दर्जीले विवाह गर्दा श्रीमान्को थातथलोबारे सोधखोज गरिनन् । जीवन निर्वाहका लागि सिलाइ सीप र श्रीमान्को साथ पर्याप्त थियो । तर, श्रीमान्को मृत्युपछि उनको जीवनमा पहिचान र नागरिकताको प्रश्न खडा भयो ।

नेपालमै जन्मिएकी पम्फा आफ्नै देशमा नागरिकताविहीन हुनुपर्दाको पीडासँग सङ्घर्ष गरिरहेकी छन् । उनको पीडा आफूमा मात्र सीमित छैन । छोराछोरी र नातिनातिनाले समेत नागरिकताविहीन हुनुपर्ने अवस्था आएपछि उनी थप चिन्तित छिन् । उनी भन्छिन्, “हामी तीन पुस्ता नै अनागरिक हुने भयौँ ।”

पम्फाका अनुसार उनको माइती गाउँमा घुम्दै आएका एक युवकसँग विवाह भएको थियो । १० सन्तानमध्ये जेठी उनको परिवार गरिबीको चपेटामा थियो । लुगा सिलाउन सिपालु युवकले परिवार पाल्न सक्ने ठानेर आमाबुबाले उनको विवाह गरिदिएका थिए । “केटो सिलाउन सिपालु छ, पाल्छ भनेर बिहे गरिदिनुभयो,” पम्फाले भनिन्, “न घर कहाँ भनेर माइतीले सोधे, न मैले नै सोधेँ ।” त्यसपछि सिलाइ र मजदुरी गर्दै उनको दाम्पत्य जीवन बित्यो ।

रोजगारीको सिलसिलामा ३५ वर्षअघि काठमाडौँ आएकी पम्फाका श्रीमान्को मृत्यु भएको दुई दशकभन्दा बढी भइसकेको छ । नागरिकता नहुँदाको समस्या उनले त्यति बेला अझ बढी भोग्नुपर्‍यो, जति बेला छोराछोरीको नागरिकता र जन्म दर्ता पनि बनाउन सम्भव भएन । अहिले नातिनातिनाको जन्म दर्ता नहुँदा उनीहरू विद्यालय जानबाट पनि वञ्चित छन् ।

“आखिर म पनि यही देशको नागरिक हुँ । मेरो जन्मथलो यही देश हो । मेरो नागरिकता किन बन्दैन रु बुझ्नै सकिनँ,” उनले भावुक हुँदै भनिन् ।

नातिनातिनासम्म नागरिकताविहीन हुनुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ताले पम्फालाई सताइरहेको छ । त्यसैले उनी छोराछोरी र नातिनातिनाको नागरिक पहिचानका लागि हारगुहार गरिरहेकी छन् । उनका अनुसार उनको जन्म २०२५ सालमा भएको हो । आफूले नागरिकता नहुँदा भोग्नुपरेको सास्ती पछिल्लो पुस्ताले भोग्न नपरोस् भन्ने उनको चाहना छ ।

“दुई छोराको नागरिकता नहुँदा न रोजगारी पाएका छन्, न पढ्न नै । बैङ्क खाता खोल्ने अवसरबाट समेत वञ्चित छौँ,” उनले भनिन् । ज्यामी काम गरेर गुजारा गर्ने छोराहरूले नागरिकता नभएकै कारण त्यही काम पनि गुमाउनुपरेको उनको भनाइ छ । नागरिकता नहुँदा परिवारको रोजीरोटी खोसिनाका साथै राज्यबाट उपलब्ध हुने विभिन्न सुविधाबाट समेत वञ्चित हुनुपरेको उनले बताइन् ।

माइतीपट्टिबाट नागरिकता बनाउने प्रयास पनि नगरेको होइन । तर, विवाह गरेर गएकी छोरीको नागरिकता माइतीबाट नबन्ने भन्दै स्थानीय निकायले फर्काएपछि उनी निराश भएर काठमाडौँ फर्किइन् ।

“श्रीमान् बितेपछि नागरिकता बनाउनुपर्छ भनेर माइती गएँ । तर, त्यहाँ श्रीमान्तिरैबाट बनाऊ भन्दै फिर्ता पठाए । श्रीमान्को थातथलो थाहा छैन । अब कहाँ जाऊँ ?” उनले भनिन् ।

हाम्रो नागरिकता कहिले बन्छ ?

सडक बालबालिकाका रूपमा जीवन बिताएका सञ्जय राई किशोरावस्थामा पुग्दासमेत नागरिकताविहीन छन् । आफन्तको पहिचान नभएका कारण उनले नागरिकता बनाउन सकेका छैनन् । जसोतसो तेक्वान्दो खेलाडी बनेका उनले विद्यालयमा प्रशिक्षण दिने काम पनि पाएका छन् । तर, नागरिकता नहुँदा पारिश्रमिक लिन समस्या भएको उनले बताए ।

उनले सञ्चालन गर्दै आएको टिकटक खाता पनि अरूकै नाममा छ । उक्त खातामा आएका पाँच लाख रुपैयाँ पनि अरूले नै राखेको उनको गुनासो छ । आफूले प्रयोग गर्ने मोबाइलको सिमकार्ड पनि अरूकै नाममा लिन बाध्य भएको उनले बताए ।

“नागरिकता नहुँदा बैङ्क खाता खोल्नसमेत नसक्नुजस्तो विडम्बना अरू के हुन्छ रु” उनले प्रश्न गरे ।

साथसाथ संस्थाको सहयोगमा प्रतिनिधिसभाका सांसदहरूसँग उनले प्रश्न गरे, “सांसदज्यू, हाम्रो नागरिकता कहिले बन्छ रु”

सञ्जयजस्तै नागरिकताविहीन छिन् अञ्जु गुरु । उनले बाल्यकाल पशुपति क्षेत्रमा सडकमा बिताइन् । किशोरावस्थामा विवाह गर्नुभएकी अञ्जुका श्रीमान् पनि सडक मानव हुन् । श्रीमान्–श्रीमती दुवैसँग नागरिकता छैन ।

“नागरिकता भए रोजगारी पाउने थिएँ । भविष्य उज्ज्वल हुन्थ्यो । अहिले अँध्यारोमा बाँचिरहेका छौँ । न पहिचान छ, न सम्मान नै,” उनले भनिन् ।

साथसाथ संस्थाले हालै सडक बालबालिकासम्बन्धी गरेको सर्वेक्षणअनुसार १५० जना सडक बालबालिकामध्ये ९३ प्रतिशतलाई जन्मदर्ताबारे जानकारी छैन । अधिकांशले जन्म दर्तालाई मौलिक अधिकारभन्दा पनि नागरिकता र रोजगारी प्राप्त गर्ने माध्यमका रूपमा बुझ्ने गरेको सर्वेक्षणको निष्कर्ष छ ।

सर्वेक्षणमा अभिभावकका कागजात नभएका ६५ प्रतिशत, बाबुको पहिचान नभएका तथा बेपत्ता भएका र वैवाहिक अवस्थासँग जोडिएका घटना ३५ प्रतिशत रहेको उल्लेख छ । त्यस्तै, ४५ प्रतिशतसँग कुनै पनि परिचयपत्र वा कागजात नभएकाले उनीहरू औपचारिक रोजगारी र सरकारी सुविधाको पहुँचबाट वञ्चित रहेको सर्वेक्षणले देखाएको छ ।

संस्थाले जन्म दर्ता गर्न नसकिएका घटनाको वर्गीकरण पनि गरेको छ । जसअनुसार सँगै बसोबास गर्ने जोडीका तीन, बहुविवाहका २५, बाबुआमा दुवैको कागजात नभएका ४५, बाबुको कागजात नभएका ६५, आमाको कागजात नभएका २७, बाबु बेपत्ता भएका ४५ र विदेशी नागरिक बाबुको पहिचानसम्बन्धी पाँच घटना रहेका छन् ।

कानुन, न्याय तथा मानव अधिकार समितिका सांसद मधुसूदन चौलागाँइले नागरिकताको हक मौलिक अधिकार भएकाले कुनै पनि नागरिक यसबाट वञ्चित हुन नहुने बताए । कागजात प्रमाणित नभएको र अभिभावकको पहिचान नखुलेको अवस्थामा नागरिकलाई सहज जीवनयापन गर्न अस्थायी परिचयपत्रको व्यवस्था गर्नुपर्ने उनको धारणा छ ।

यसका लागि समितिमा आवश्यक छलफल गरी नागरिकता वितरण प्रक्रिया सहज बनाउन कार्यविधि तयार गर्ने पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

“नागरिकता जस्तो नैसर्गिक अधिकार पाउनुपर्छ । कानुन छ । यसलाई अझ सरल बनाउन समितिमा पहल गर्नेछौँ,” सांसद चौलागाँईले भने ।

अधिकारकर्मी एवं साथसाथ संस्थाका स्रोत कार्यकारी कविता शाहले नागरिकता र जन्म दर्ता प्राप्त गर्ने कानुनी व्यवस्था भए पनि त्यसको व्यावहारिक कार्यान्वयन जटिल हुँदा सर्वसाधारणले सहज रूपमा सेवा पाउन नसकेको बताइन् ।

“कानुन राम्रो बनेको छ, यद्यपि व्यावहारिक पक्ष कमजोर हुँदा धेरै युवा पुस्ता अनागरिक बन्न बाध्य छन्”, उनले भनिन् ।

प्रकाशित: ९ मंसिर २०८३ ७:२५ | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast