वैकुण्ठ चतुर्दशी मनाइँदै

हिमाल प्रेस ७ मंसिर २०८३ ६:२८ | Monday, November 23, 2026
वैकुण्ठ चतुर्दशी मनाइँदै

काठमाडौँ- प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व आज स्नान, दान, जप, ध्यान गरी मनाइँदै छ।

वैकुण्ठ चतुर्दशीमा नदीमा स्नान गरी जप, ध्यान एवं दान गर्दा पुण्य पाइने विश्वास छ । वैकुण्ठ चर्तुदशीमा भगवान् विष्णुको पूजा गरी रातमा जागरण गर्ने गरिन्छ । चर्तुदशीको सम्बन्ध शिव, विष्णु दुवैसित रहेको मानिन्छ । शिवसँग सम्बन्ध भएकोलाई शिववैकुण्ठ र विष्णुसित सम्बन्ध भएकोलाई विष्णुवैकुण्ठ भनिन्छ । शिवपूजाको लागि अरुणोदयव्यापी चर्तुदशी उत्तम मानिएको छ भने उपवास (व्रत) का लागि अहोरात्र (रातदिन)को अरुणोदय चर्तुदशीले युक्त दिनलाई उपयुक्त मानिएको छ ।

भगवान् विष्णुका धेरै नाममध्ये एक नाम वैकुण्ठ पनि हो । कुण्ठा नभएको ज्ञान वा स्थान जसको आश्रय छ त्यसलाई वैकुण्ठ भनिन्छ । यसैगरी जीवनलाई नियन्त्रण गर्ने र ज्ञान दिने रूपमा जसको प्रसिद्धि छ त्यसलाई पनि वैकुण्ठ भनिन्छ । त्यस्तै महाभारतको शान्ति पर्वमा आफ्ना बहुसङ्ख्यक नामको व्युत्पत्ति भगवान् स्वयंले बताएका छन् ।

गतिनिरोधक गर्नेलाई विकुण्ठ भनिन्छ र त्यो सम्पादन गर्नेलाई वैकुण्ठ भनिन्छ । जगत् सृष्टि गर्ने क्रममा भगवान्ले पृथ्वीलाई जलसित आकाशलाई वायुसित र वायुलाई तेजका साथ अविचल हुने गरी मिलाएकाले उनको नाम वैकुण्ठ रहेको भन्ने पौराणिक मान्यता पनि छ।

यस दिन सके पूजा गर्ने नसकेमा विष्णुका नाममात्रको उच्चारणले पनि ठूलो पुण्य प्रदान गर्छ र आपत् विपत्बाट बचाउने विश्वास गरिन्छ । भगवान् विष्णुका सबै नाम ऐश्वर्य, स्वामित्व, व्यापकता, परोपकार, दुष्टदमन, लोकसंरक्षक आदि गुणको सम्बन्धले युक्त छ।

धर्मराज युधिष्ठिरले भीष्मसित यस विषयमा धेरै कुरा सोधेको महाभारतको शान्तिपर्वमा उल्लेख छ । भीष्मले विष्णु स्तुति गर्दा वा जप्दा नै व्यक्ति सम्पूर्ण दुःखदेखि पार हुनसक्छ भनेर युधिष्ठिरलगायत पाँच पाण्डवलाई सम्झाएको वर्णन महाभारतमा छ । भीष्मले गरेको यो स्तुति गानको समय भएकाले आजको दिनदेखिलाई भीष्मपञ्चक पनि सुरु हुन्छ ।

देवताका पनि देवता विष्णु सर्वाधिक रूपले पुजनीय मानिनुहुन्छ । भगवान् विष्णुकै गणस्थलबाट पैदा भएकाले गण्डकी नाम रहन गएको पौराणिक मान्यता छ । दामोदर कुण्ड पनि कालीको शिर मानिएको छ । दामोदर पनि भगवान् विष्णुसँगको नामसँग सम्बन्धित रहेको छ । काठमाडौँ उपत्यकामा रहेका र बग्ने नदीमध्ये एकको नाम छ विष्णुमती । जसको उत्पत्ति विष्णुपादुकाबाट भएको हो । विष्णुपादुका डाँडाको फेदमा रहेको बूढानीलकण्ठ विष्णु मूर्ति मान्यताको साथै कलात्मकताका दृष्टिले पनि सुप्रसिद्ध रहेको छ ।

भगवान् विष्णु पालनकर्ताका रूपमा स्थापित भई सबैलाई पालन गरेर रहने क्रममा जागा भई वैकुण्ठाधिपति भगवान् वैकुण्ठ धाममा जानुभएको थियो । आजैका दिन विष्णु वैकुण्ठधाम जानुभएको पौराणिक मान्यता रहेको पण्डित बालमुकुन्दे देवकोटा बताउँछन् ।

हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णुले त्यस अवधिमा कार्यभार भगवान् शिवलाई दिएका थिए । आज त्यो कार्यभार भगवान् शिवले विष्णुलाई दिएर कैलाश जानुहुने विश्वास पनि गरिन्छ । यसैले आजको दिनलाई हरि र हर मिलनको उत्सवका रूपमा पनि मनाइन्छ ।

प्रकाशित: ७ मंसिर २०८३ ६:२८ | Monday, November 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast