ड्रिलिङ साइटको स्थलगत अवलोकनमा रवि लामिछाने, ग्यास खानी उत्खनन प्राथमिकता रहेको दावी

हिमाल प्रेस १३ मंसिर २०८३ १०:०५ | Sunday, November 29, 2026
ड्रिलिङ साइटको स्थलगत अवलोकनमा रवि लामिछाने, ग्यास खानी उत्खनन प्राथमिकता रहेको दावी

दैलेख- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दैलेखको भैरवी गाउँपालिका–१, जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन् ।

सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरी शनिबार साँझ जलजलेस्थित ड्रिलिङ साइटको स्थलगत अवलोकन गर्न पुगेका लामिछानेले खानीको वर्तमान अवस्थाबारे जानकारी लिए ।

अवलोकनका क्रममा उनले दुई वर्षअघि नै चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ पूरा गरिए पनि एक वर्षयता परीक्षणको काम रोकिँदा करोडौँ मूल्य बराबरका संवेदनशील उपकरणमा खिया लाग्न थालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

“पहिलोपटक यहाँ आएर यसको अवस्था हेरेँ। उत्पादनको आवश्यकता छँदै छ, तत्काल महँगा उपकरणको संरक्षणको पनि उत्तिकै खाँचो देखियो। प्राविधिक काम कहाँ र किन अड्किएको हो, त्यसबारे थप बुझनुपर्छ,” उनले भने ।

लामिछानेले लामो समयदेखि अड्किएको ‘वेल टेस्ट’ तथा व्यावसायिक उत्पादनको प्रक्रिया अगाडि बढाउन सम्बन्धित मन्त्रालय र विज्ञसँग परामर्श गर्ने प्रतिबद्धता जनाए । प्रयोगशाला परीक्षणबाट ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डार पुष्टि भएकाले देशको करिब ५० देखि ६० वर्षसम्मको माग धान्न सक्ने हुँदा यो कर्णालीको मुहार फेर्ने राष्ट्रिय गौरवको आयोजना रहेको उनको भनाइ छ ।

नेपाल र चीनबीचको समझदारीअनुरुप २०७६ फागुनमा विस्तृत अन्वेषण सम्झौतामार्फत ४५ रोपनी जग्गा अधिग्रहण गरी यो परियोजना अघि बढाइएको हो ।

“हामीले आमनागरिकसँग गरेको बाचा र चाहेको समृद्धिका आधार यिनै गौरवका आयोजना हुन्,” सभापति लामिछानेले भन्नुभयो, “यसको उत्खननलाई पूर्णता दिन निरन्तर पहल रहनेछ । विस्तृत अध्ययन गरी ठोस कदम चालिनेछ, सिंगो कर्णालीवासीले छिट्टै सकारात्मक सन्देश पाउनुहुनेछ ।” रासस

प्रकाशित: १३ मंसिर २०८३ १०:०५ | Sunday, November 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast