काठमाडौँ- मधेश प्रदेश र कोशी प्रदेशका विभिन्न स्थानमा आज मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो मधेश प्रदेश, कोशी प्रदेश तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ ।
देशका बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । दिउँसो कोशी प्रदेशको तराई भूभागका साथै मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार राति देशका हिमाली क्षेत्र, कोशी प्रदेशको तराई भू–भाग र मधेश प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



