बर्दिया- बर्दियाको बाँसगढी नगरपालिका–५ मोतिपुर जंगलस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा बर्दियाको गुलरिया नगरपालिका–११ निवासी २४ वर्षीय ओमकार थारुको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि भारतको लखनउ लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बारबर्दिया नगरपालिका–३ बानियाभारका २५ वर्षीय आशिष थारु, भारतको लौकाइका १८ वर्षीय सहाबुदिन खान र २०र२२ वर्षीय जमाल खान गम्भीर घाइते भएका छन् ।
आशिष भे ११ प ८५६७ नम्बरको मोटरसाइकलका चालक हुन् । उनको टाउकोमा चोट लागेको छ । सोही मोटरसाइकलमा पछाडि सवार बाँसगढी नगरपालिका–७ का १८ वर्षीय रमन थारु भने सामान्य घाइते भएका थिए । उपचारपछि उनलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ ।
प्रहरीका अनुसार मंगलबार दिउँसो भे ५ प ९१६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भे ११ प ८५६७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



