काठमाडौँ- सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल संवत् ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको नेपालीको साझा सम्पदा भएको बताएका छन् ।
नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले नेपाल संवत् नेवार समुदायको सांस्कृतिक जीवनसँग जोडिएको भए पनि यो नेपालीको साझा सम्पदा भएको बताएका हुन् ।
“राष्ट्रिय विभूति शङ्खधर साख्वाः ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराई प्रारम्भ गरेको नेपाल संवत् नेपालको मौलिक ऐतिहासिक संवत् हो । यसले नेपालको सांस्कृतिक पहिचान, सामाजिक एकता र आत्मसम्मानको गौरवपूर्ण इतिहास बोकेको छ । जनकल्याण, परोपकार र सामाजिक न्यायको भावना यस संवत्का विशिष्ट सन्देश हुन्”, उनले सन्देशमा भनेका छन् ।
सभामुख अर्यालले नेपाल संवत्ले राष्ट्रिय मान्यता प्राप्त गरिसकेको सन्दर्भमा यसको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्नु राज्य तथा नागरिक सबैको साझा दायित्व भएको बताएका छन् । यसका लागि सरकारले नीतिगत तथा संस्थागत पहललाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।
सभामुख अर्यालले मुलुकको भाषा, संस्कृति, सम्पदा र राष्ट्रिय पहिचानको संरक्षणसँग सम्बन्धित विषयलाई कानुन निर्माण, नीतिगत बहस र सरकारको जवाफदेहितामार्फत प्राथमिकताका साथ संसद्मा सम्बोधन हुने विश्वास व्यक्त गरेका छन् ।
उनले नेपाल संवत्ले सम्पूर्ण नेपालीमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा सञ्चार गरोस् भन्ने कामना गरेका छन् । साथै, राष्ट्रिय एकता, सामाजिक सद्भाव र समृद्धिको यात्रालाई थप सुदृढ बनाउँदै विपद् र चुनौतीको सामना गर्न सबैलाई प्रेरणा प्रदान गर्नेमा जोड दिएका छन् ।
यस वर्ष प्राकृतिक विपद्का कारण विभिन्न स्थानमा जनधनको क्षति बेहोर्नुपरेको पीडादायी अवस्थामा प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
“विपद् प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणको कामलाई थप प्रभावकारी बनाउन राज्यका सबै निकाय, स्थानीय तह र नागरिक समाजबीच सहकार्य आवश्यक छ । यस्तो समयमा हाम्रो एकता, सहयोग र मानवीय समवेदना नै सबैभन्दा ठूलो शक्ति हो”, सभामुख अर्यालद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।



