काठमाडौँ- सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार तान्जानियातर्फ प्रस्थान गरेका छन्।
सभामुख अर्याल आइतबार साँझ कतार एयरवेजको उडानमार्फत तान्जानियातर्फ प्रस्थान गरेका हुन् । उनीसँगै प्रतिनिधिमण्डलमा पत्नी अम्बिका केसी, प्रतिनिधि सभाका सदस्य रविन महत्तो, राष्ट्रिय सभाका सदस्यहरू झक्कु प्रसाद सुवेदी र अञ्जान शाक्य सहभागी छन्। साथै, प्रतिनिधि सभाका महासचिव पद्मप्रसाद पाण्डे, प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी, सहसचिव रेखा उपाध्याय खनाल तथा सभामुखका निजी सचिव मधु मिजार पनि प्रतिनिधिमण्डलमा सहभागी छन्।
तान्जानियाको अरुषा सहरमा आयोजना हुने अन्तरव्यवस्थापिका संघको १५३औँ महासभा ५ देखि ९ अक्टोबर २०२६ ९१९ देखि २३ असोज २०८३० सम्म सञ्चालन हुनेछ।
महासभामा विश्वभरका संसद्का प्रतिनिधिहरूको सहभागिता रहनेछ। महासभाका क्रममा विभिन्न विषयगत स्थायी समितिका बैठक, गभर्निङ काउन्सिलको बैठक, महासभा तथा द्विपक्षीय भेटवार्तालगायतका कार्यक्रम सञ्चालन हुनेछन्।



