काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अरू दलका उम्मेदवारलाई मत दिएको प्रमाण भेटिए त्यस्ता सदस्यलाई कारबाही गरिने बताएका छन्।
एमालेको वाग्मती प्रदेश संगठन कमिटीको तेस्रो पूर्ण बैठकलाई शनिबार (कात्तिक २८) च्यासलमा सम्बोधन गर्दै उनले पार्टीमा रहेर अरू दललाई मत दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । त्यस्तो गतिविधिमा संलग्न भएको पाइएमा स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र दोषी देखिए कारबाही गर्ने उनको भनाइ थियो।
अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन नजिकिएकाले पार्टीभित्रका अन्तरविरोध आपसी छलफलबाट समाधान गरी एकताबद्ध भएर चुनावमा केन्द्रित हुन नेता–कार्यकर्तालाई निर्देशन दिए। उनले सबै तहका नेता–कार्यकर्तालाई सक्रिय हुन आग्रह गर्दै पार्टीमा रहेर बेइमानी गर्ने छुट कसैलाई नभएको बताए।



