गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

हिमाल प्रेस २२ असोज २०८३ २१:१८ | Thursday, October 8, 2026
12
SHARES
गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी- बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध हुँदा गण्डकी प्रदेशका विभिन्न जिल्लामा दुई सातादेखि सवारी आवागमन प्रभावित बनेको छ।

कालीगण्डकी नदीमा आएको बाढीले लोकमार्गको पर्वत-बागलुङ जोड्ने मालढुङ्गा पुल र करिडोरअन्तर्गत म्याग्दी खण्डको पोखरेबगर पुलमा क्षति पुर्‍याएपछि दुवै सडकमार्गमा सिधा यातायात सेवा बन्द छ।

चाडबाड नजिकिँदै गरेको अवस्थामा मुख्य सडकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ। महँगो भाडा तिरेर घुमाउरो वैकल्पिक सडकबाट यात्रा गर्नुपर्ने बाध्यता छ। सडक सञ्जाल टुट्दा मुख्य याममै पर्यटकीय गतिविधि पनि न्यून देखिएका छन्। ढुवानी प्रभावित हुँदा बजारमा मालसामानको भाउ बढेको छ।

मध्यपहाडका अधिकांश जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य सडकमार्ग अवरुद्ध हुँदा बिरामी र अशक्त झनै अफ्टेरोमा परेका स्थानीय बताउँछन्।

पर्वतको कुश्मा नगरपालिका-१ बाट बागलुङ सदरमुकाम जोड्ने मालढुङ्गा पुलको पहुँच मार्ग बाढीले बगाउँदा बागलुङबाट पश्चिम डोल्पासम्मको यातायात सेवा प्रभावित बनेको धवलागिरि-गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीले बताए।

मालढुङ्गाको पुल भत्केपछि लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाबाट बागलुङ हुँदै काठमाडौँसम्मको बस सेवा ठप्प भएको उनको भनाइ छ।

पछिल्लो समय काठमाडौँबाट पोखरा, बागलुङ, रुकुमपूर्व, रुकुमपश्चिम हुँदै डोल्पासम्मका बस मध्यपहाडी लोकमार्ग भएर गुड्ने गरेका थिए।

‘बागलुङबाट काठमाडौँ, पोखरालगायत लामो दूरीमा चल्ने बस अहिले छुटाउन सकेका छैनौँ,’ उनले भने, ‘वैकल्पिक सडक प्रयोग गरेर माइक्रो र जीप मात्र सञ्चालन भइरहेका छन्।’

साना सवारीसाधन पर्वतको दोबिल्लाबाट फलेवास, जैमिनीघाट हुँदै कालीगण्डकी करिडोर भएर बागलुङ भित्रने गरेको उनको भनाइ छ। केही सवारीसाधन मालढुङ्गादेखि म्याग्दीको बेनी बजार, रत्नेचौर हुँदै यात्रु लिएर बागलुङ पुग्ने गरेका छन्।

मालढुङ्गा नजिक रहेको खनियाघाटको झोलुङ्गे पुलबाट पनि सर्वसाधारण आउजाउ गरिरहेका छन्। साना सवारीसाधनबाट खनियाघाट पुगेका यात्रु झोलुङ्गे पुल तरेपछि अर्को सवारीसाधनमा बागलुङ बजारसम्म पुग्ने गरेका छन्।

‘अब पनि मालढुङ्गाको पुल सञ्चालनमा ल्याउन नसक्ने हो भने यातायात व्यवसाय संकटमा पर्ने देखिन्छ,’ अध्यक्ष केसीले भने, ‘यात्रुको चाप हुने बेलामा सवारीसाधन थन्काएर राख्नुपर्नेको छ। चाडबाडको बेला यात्रुलाई पनि सास्ती भएको छ।’

चाडबाडका बेला विदेश र स्वदेशका ठूला सहरबाट गाउँ फर्कने यात्रुलाई समस्या भइरहेको उनले बताए।

सडक डिभिजन कार्यालय, पोखराका प्रमुख कृष्णराज अधिकारीले अबको चाररपाँच दिनभित्रमा मालढुङ्गाको पुल सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताए।

‘ग्याबिन’ र ‘जियोब्याग’ प्रविधिबाट पुलमा मर्मतकार्य भइरहेको उनको भनाइ छ। ‘उच्च प्राथमिकताका साथ पुल मर्मतको काम भइरहेको छ, दसैँअगावै पुल सञ्चालनमा आउँछ,’ उनले भने, ‘नदी किनार र साँघुरो ठाउँ भएकाले काममा पनि केही कठिनाई छ, तर रातदिन नभनी हामी कार्यस्थलमा खटिएका छौँ।’

कालीगण्डकीको बाढीले मालढुङ्गासँगै कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडकको पोखरेबगर पुलमा पनि क्षति पुर्‍याउँदा सिङ्गो मुस्ताङ जिल्ला सडक सम्पर्कबाट विच्छेद भएको छ।

बाढीले उक्त पुलको पहुँच सडक कटान गरेपछि अहिले मर्मतकार्य चलिरहेको छ। आगामी सोमबारसम्म पुल सञ्चालनमा ल्याउने गरी काम भइरहेको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ। उक्त सडक अवरुद्ध हुँदा काठमाडौँ, पोखरादेखि मुस्ताङसम्मको यातायात सेवा ठप्प भएको छ।

नेपाल-चीन कोरला नाकासँग जोडिएको उक्त सडक बन्द हुँदा सीमापार व्यापार पनि प्रभावित भएको छ। चीनबाट नेपाल भित्रिएका सयौँ कन्टेनर अहिले मुस्ताङमै रोकिएका छन्।

चाडबाडलाई लक्ष्य गरी चीनबाट कोरला नाका हुँदै नेपाल आयत गरिएका मालसामान बाटोमै रोकिँदा व्यवसायी पनि मर्कामा परेका छन्। मुस्ताङमा उत्पादित स्याउ पनि बजार पठाउन समस्या भइरहेको छ। मुस्ताङमा दैनिक उपभोग्य सामानको अभाव देखिन थालेको छ।

मुस्ताङ जोड्ने मुख्य सडकमार्ग अवरुद्ध बनेपछि पोखरा-जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको जोमसोम विमानस्थलका प्रमुख विश्वनाथ शर्माले बताए। उडान संख्या कम भएका कारण यात्रुको चाप थेग्न मुस्किल भइरहेको जोमसोम विमानस्थलका शर्माले बताए।

उनका अनुसार तारा र समिट एयरको ट्विनअटर जहाजले पोखरा-जोमसोम उडान गर्दै आएका छन्।

‘दुवै जहाजले दैनिक पाँचरपाँचवटा उडान गर्दै आएकामा अहिले दैनिक सातरसात वटासम्म उडान गरेका छन्,’ उनले भने, ‘मुस्ताङ जोड्ने सडकमार्ग विच्छेद भएपछि जहाजबाट आउजाउ गर्ने यात्रुको चाप बढेको हो।’

सोह्र श्राद्धका बेला मुक्तिनाथ दर्शनसँगै कागबेनीमा पितृतर्पण गर्न नेपाल र भारतका हिन्दूमार्गीहरु पनि उल्लेख्य रुपमा त्यहाँ पुग्ने गर्छन्। मुख्य पर्यटकीय याममै सडक अवरुद्ध हुँदा गण्डकी प्रदेशको पर्यटन क्षेत्र पनि प्रभावित भएको छ। मुस्ताङ, मनाङ, म्याग्दी, बागलुङलगायत क्षेत्रमा पर्यटकीय गतिविधि न्यून देखिएका छन्।

असोज ८ देखि ११ गतेसम्मको भारी वर्षात्पछि कालीगण्डकी नदीमा आएको बाढीका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर ठाउँठाउँमा अवरुद्ध भएको थियो। कपितय ठाउँमा सडक मर्मत गरेर आवागमन सहज बनाइएपनि ठूलो क्षति पुगेका ठाउँमा अझै यातायात सञ्चालनमा आउन सकेको छैन।

प्रकाशित: २२ असोज २०८३ २१:१८ | Thursday, October 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast