कलाकारका समस्या सम्बोधन गर्न राजनीतिक तहबाटै आवाज उठाउँछु : रीता थापामगर [अन्तरवार्ता]

रमेश दवाडी २८ असोज २०८३ १७:०० | Wednesday, October 14, 2026
10
SHARES
कलाकारका समस्या सम्बोधन गर्न राजनीतिक तहबाटै आवाज उठाउँछु : रीता थापामगर [अन्तरवार्ता]

रीता थापामगर नेपाली लोक तथा दोहोरी गीतसंगीत क्षेत्रमा परिचित नाम हो। २०३८ सालमा धादिङको नीलकण्ठ नगरपालिका–२, साँखु सोह्रघरमा जन्मिएकी थापा २०५४ सालदेखि गीतसंगीत र सांस्कृतिक गतिविधिमा सक्रिय छिन्। लोकभाकाको संरक्षण र मौलिक सिर्जनामा रुचि राख्ने उनले आफ्नै शब्द तथा सिर्जनामा आधारित ३५ भन्दा बढी गीत सार्वजनिक गरिसकेकी छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षका रूपमा कार्यकाल पूरा गरेकी उनले कलाकारका समस्या सम्बोधन, सामाजिक सहायता कोष निर्माण, अग्रज स्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहनका क्षेत्रमा काम गरेकी छन्। कलाकारितासँगै सानैदेखि नेपाली कांग्रेसको विचार र संगठनसँग जोडिएकी थापा पार्टीको १५औँ महाधिवेशनबाट खुला महिलातर्फ दुई हजार ३०८ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। कलाकारिता र राजनीतिलाई सँगसँगै अघि बढाउने बताउने उनी पार्टी संगठन निर्माण, महिला तथा युवा सशक्तीकरण र लोकसंगीत क्षेत्रका समस्या सम्बोधनका लागि राजनीतिक तहबाट आवाज उठाउन चाहन्छिन्। प्रस्तुत छ, थापामगरसँग गरिएको कुराकानी :

नेपाली कांग्रेसजस्तो गौरवमय इतिहास बोकेको पार्टीको केन्द्रीय सदस्यमा महाधिवेशनबाट निर्वाचित हुँदा कस्तो लागेको छ?

सर्वप्रथम सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई हार्दिक धन्यवाद दिन चाहन्छु। नेपाली कांग्रेस देशको पहिलो नम्बरको जिम्मेवार पार्टी हो। भलै संसद्‌मा दोस्रो ठूलो दल होला, तर जिम्मेवारीका हिसाबले पहिलो हो। गौरवमय इतिहास बोकेको पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित हुँदा निकै खुसी लागेको छ।

कांग्रेसप्रति तपाईंको लगाव सानैदेखि थियो कि अहिले आएर जोडिनुभएको हो?

म सानैदेखि कांग्रेस पार्टीसँग आबद्ध छु। सानैदेखि गीतसंगीत र सांस्कृतिक कार्यक्रममा सहभागी हुन्थेँ। त्यही क्रममा कांग्रेससँग जोडिएकी हुँ। म पदप्रतिष्ठाका लागि राजनीतिमा आएकी होइन। सानैदेखिकी कांग्रेस हुँ।

लोक तथा दोहोरी गीतसंगीतमा तपाईंको छुट्टै पहिचान छ। अब राजनीति र कलाकारितालाई सँगसँगै अघि बढाउनुहुन्छ कि कलाकारिता छाड्नुहुन्छ?

म गीतसंगीत र नेपाली कांग्रेसको संगठन निर्माण दुवैलाई समय दिन्छु। म सानैदेखि तरुण दल र नेविसंघमा आबद्ध भएर काम गर्दै आएकी हुँ। कलाकारले राजनीति गर्नुहुँदैन भनेर कहीँ लेखिएको छैन होला। कलाकारिता र राजनीति आआफ्नो ठाउँमा छन्। दुवैलाई व्यवस्थापन गरेर अघि बढ्छु।

तरुण दल र नेविसंघमा तपाईंको आबद्धताको पृष्ठभूमि पनि बताइदिनुस् न।

गाउँमा हुँदा नेपाल तरुण दलको गाविस सचिव भएर काम गरेकी थिएँ। पद्मकन्या क्याम्पसमा अध्ययन गर्दा दिदीहरूको साथ र सहयोगमा नेविसंघको कार्यकर्ताका रूपमा काम गरेँ। महिला संघको केन्द्रीय सदस्य पनि भएँ।

केन्द्रीय तहको जिम्मेवारीमा आइपुग्दा अब कसरी अघि बढ्ने योजना बनाउनुभएको छ?

पार्टीले जुन ठाउँमा पठाउँछ र जुन जिम्मेवारी दिन्छ, त्यसलाई सही ढंगले पूरा गर्न सघाउँछु। गगन थापाको नेतृत्वमा बनेको कांग्रेस र उहाँको टिमलाई साथ दिन तयार छु। पार्टी निर्माणका लागि गाउँगाउँ र टोलटोलमा जानुपर्छ। कांग्रेसले आफ्नो सिद्धान्त बिर्सेर विभिन्न गठबन्धनमा अल्झिएको अवस्था थियो। अहिले नेतृत्वले पार्टी एक्लै चुनाव लड्नुपर्छ भनिरहेको छ। त्यसैले युवा र महिला सशक्तीकरणका मुद्दा लिएर टोलटोलमा जान्छौँ। सबैलाई कांग्रेसको सिद्धान्त बुझाउनुपर्छ भन्ने मान्यताका साथ अघि बढ्छु।

अहिले कांग्रेस दुई पक्षमा विभाजित छ। यसलाई एक बनाउन तपाईंको भूमिका रहन्छ?

म केन्द्रीय सदस्य मात्रै हुँ। हाम्रो नेतृत्वले एकताका लागि प्रयास गरिरहेको छ। हामी एउटै पार्टीका मान्छे हौँ। फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ। फुट्दा हामी झन् कमजोर हुन्छौँ। अहिले पनि कमजोर भइरहेको अवस्थामा सानो सोच त्यागेर, तेरो–मेरो नभनी एक हुनुपर्छ। हाम्रो गौरव भनेकै पार्टी हो। विभाजित भएर जाँदा दुवै पक्षलाई घाटा हुन्छ। त्यसैले फुट्नुभन्दा जुट्नु राम्रो हो। म सबैलाई एकताबद्ध हुन आग्रह गर्छु।

लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्ष पदबाट राजीनामा दिएर पार्टीको राजनीतिमा आउनुभएको हो कि कार्यकाल नै सकिएको थियो?

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ महाधिवेशन बर्दिवासमा सम्पन्न भयो। मैले जिम्मेवारी हस्तान्तरण गरेको दुई दिनपछि कांग्रेसको चुनावी मैदानमा उत्रिएँ। आफ्नो कार्यकाल पूर्ण रूपमा सफलतापूर्वक सम्पन्न गरेर जिम्मेवारी हस्तान्तरण गरेपछि नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेकी हुँ।

प्रतिष्ठानको अध्यक्षका रूपमा तपाईंको कार्यकाल कस्तो रह्यो?

मेरो कार्यकाल निकै सफल रह्यो भन्ने लाग्छ। मैले सकेसम्म प्रतिष्ठानमा समय, श्रम र लगानी दिएँ। आफ्नो सोच र क्षमताले भ्याएसम्म संस्थालाई योगदान गरेँ। समग्रमा जिम्मेवारी सफलतापूर्वक पूरा गरेर बाहिरिएकी छु।

आफ्नो कार्यकालमा गरेका उल्लेखनीय काम केके हुन्?

धेरै काम भएका छन्। कलाकारलाई दुःख पर्दा सहयोग गर्न सकियोस् भनेर सामाजिक सहायता कोष निर्माण गरेँ। ‘अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन’ भन्ने नाराका साथ अघि बढेको प्रतिष्ठानले प्रत्येक वर्ष एकजना अग्रज स्रष्टाको सांगीतिक साँझ आयोजना गर्ने उद्देश्य राखेको थियो। मेरो कार्यकालमा नारायण रायमाझी सांगीतिक साँझ र पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ सम्पन्न भए।

त्यसबाहेक विभिन्न प्रशासनिक काम पनि भए। प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय रनिङ सिल्ड दोहोरी प्रतियोगिताका तीनवटै कार्यक्रम पनि मेरो कार्यकालमा सफलतापूर्वक सम्पन्न भए। समग्रमा संस्थाका लागि राम्रा काम गरेर जिम्मेवारी हस्तान्तरण गरेकी छु भन्ने लाग्छ।

आफ्ना कति सिर्जना सार्वजनिक गरिसक्नुभएको छ?

मेरा ३०-३५ वटा सिर्जना सार्वजनिक भएका छन्। अरूका गीतभन्दा आफ्नै सिर्जना गाउन बढी मन लाग्छ। हरेक महिना गीत निकाल्ने मेरो सोच छैन। वर्षमा एउटा गीत ल्याउने गरेकी छु।

‘मौरी भुल्यो रसैमा’, ‘ए आमा जाम भन्यो मलाई’, ‘सोह्रघरे साइँली’, ‘सोरठी गीत झुमरी’, ‘लेऊ न आमा एक मुठी पानी’, ‘चाँचर’, ‘बर मागेको छु’, ‘यति बानी सुधार’ र ‘बस्यो माया’ लगायत मेरा थुप्रै सिर्जना छन्।

पार्टीको महाधिवेशनमा विभिन्न कठिनाइ भोग्नुभयो होला। समग्रमा अनुभव कस्तो रह्यो?

राजनीति सजिलो खेल होइन, निकै कठिन रहेछ। भोट माग्न धेरै खटिनुपर्‍यो। प्रचारप्रसारदेखि व्यवस्थापनसम्मका काममा समय दिनुपर्‍यो। प्रतिष्ठानमा काम गर्दाको अनुभवभन्दा यो बिल्कुलै फरक रह्यो। कलाकारिता र राजनीति फरक विषय हुन्। राजनीतिमा चुनाव जित्नु सानो कुरा होइन रहेछ।

केन्द्रीय सदस्यमा निर्वाचित भएपछि कस्ता प्रतिक्रिया पाइरहनुभएको छ?

कलाकारिता क्षेत्रमा धेरैले मलाई चिन्नुहुन्थ्यो। तर कतिपयलाई म कांग्रेसको मान्छे हुँ भन्ने थाहा रहेनछ। अहिले धेरै साथीले ‘तपाईं खुलेर राजनीतिमा आउनुभयो, धन्यवाद। तपाईं जस्तो मान्छे पार्टीलाई आवश्यक थियो। संस्थामा काम गर्दासम्म तपाईंलाई कुनै पार्टीको मान्छे भनेर चिनिएन, तपाईंको आगमनले हामीलाई आश्चर्यमा पार्‍यो’ भन्नुभएको छ। मेरो आगमनले धेरै साथी खुसी हुनुभएको पाएकी छु।

कलाकारिताका समस्या अब पार्टीमार्फत सरकारसम्म पुर्‍याएर सम्बोधन हुन्छ भन्ने अपेक्षा पनि गरिएको होला नि?

हो, त्यस्तो अपेक्षा छ। प्रतिष्ठानमा काम गर्दा पनि सरकारसँग जोडिएर कलाकारका समस्या सुनाउने प्रयास गरेँ। विभिन्न निकायमा कलाकारका पीडा, वेदना र समस्या लिएर पुगेँ। सामाजिक संस्थामा बसेर काम गर्नु र मूलधारको राजनीतिमा आएर आवाज उठाउनु फरक कुरा हो भन्ने लाग्छ।

लोकसंगीत र संस्कृतिमा लागेका कलाकारका समस्या राज्यलाई थाहा छ। तर सरकारले पर्याप्त चासो नदिएको अनुभूति हुन्छ। त्यसैले अब कलाकारका समस्या सम्बोधन गर्न राजनीतिक तहबाटै आवाज उठाउने र राज्यलाई झक्झकाउने काम गर्छु।

अन्त्यमा केही भन्न चाहनुहुन्छ?

भोटेकोशी र बूढीगण्डकी नदीको बाढीले देश शोकमा छ। बाढीपीडित जनतालाई दुःख सहने शक्ति मिलोस्। बाढीमा ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। देशविदेशबाट आउनुभएका महाधिवेशन प्रतिनिधि, नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफल पार्न काठमाडौं आउनुभएका सम्पूर्ण प्रतिनिधि र पार्टीका अग्रज नेताहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। सबैलाई बडादसैँको हार्दिक शुभकामना!


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast