काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। काठमाडौँस्थित राष्ट्रिय सभागृहमा बागमती प्रदेशका ज्येष्ठ मतदाता ६७ वर्षीय राजेन्द्र बुर्लाकोटीले पहिलो मतदान गरेका छन्।
मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि लाइनमा लागेका छन्। निर्वाचन समितिले अपराह्न ३ बजेसम्म मतदान सञ्चालन गर्ने र मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्ने तयारी गरेको छ।
बिहीबारका लागि तय गरिएको मतदान मतपत्र छपाइमा ढिलाइ, खराब मौसम र प्राविधिक समस्याका कारण आज बिहानका लागि सारिएको थियो।
साँझ मतदान सुरु गर्दा प्रक्रिया रातिसम्म लम्बिने र प्रतिनिधिहरूलाई कठिनाइ हुने देखिएपछि बिहानैदेखि मतदान गराउने निर्णय गरिएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बताए।
निर्वाचन समितिका अनुसार महाधिवेशनमा ७ हजार २५५ प्रतिनिधिले मतदान गर्नेछन्। उनीहरूले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य चयन गर्न मताधिकार प्रयोग गर्नेछन्।



