पृथ्वी राजमार्गको गलौदीमा भासिएको सडक मर्मत गरिँदै

हिमाल प्रेस २४ असोज २०८३ १०:२५ | Saturday, October 10, 2026
पृथ्वी राजमार्गको गलौदीमा भासिएको सडक मर्मत गरिँदै

काठमाडौँ- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा भासिएको सडक मर्मतको कार्य तीव्र पारिएको छ। त्रिशूली नदीको कटानका कारण सडक भासिएर अवरुद्ध भएको राजमार्ग खुलाउन अहिले भित्तातर्फ ‘ब्याक कटिङ’ (भित्ता खन्ने काम) भइरहेको छ।

सडक विभागका सूचना अधिकारी सुभाञ्जन दाहालका अनुसार नदी किनारतर्फबाट त्रिशूलीले कटान गरेपछि गजुरीबाट काठमाडौँतर्फ पर्ने गलौदी खण्डमा सडक भासिएर आवागमन पूर्ण रूपमा ठप्प भएको थियो।

सडकको नदीतर्फको भाग भासिएपछि भित्तातर्फ रहेको स्थानीय सडकलाई काटेर नयाँ ट्रयाक बनाउने योजना बनाइएको थियो । तर, सुरुमा स्थानीय निकायको अवरोधका कारण ‘ब्याक कटिङ’ को काम सुरु हुन सकेको थिएन।

स्थानीय निकाय तथा सरोकारवालासँग छलफल गरी सहमति जुटेपछि अहिले मर्मत तथा भित्ता खन्ने काम द्रुत गतिमा अघि बढाइएको सूचना अधिकारी दाहालले जानकारी दिए । ‘स्थानीय निकायसँगको समन्वयपछि अहिले ‘ब्याक कटिङ’ को काम सुरु भइसकेको छ,’ दाहालले भने, ‘सबै अवस्था सामान्य रहे अबको करिब ८ घण्टाभित्र राजमार्गमा यातायात पुनः सुचारु हुनेछ।’

राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ भित्रिने र बाहिरिने सवारीसाधनहरू लामो जाममा परेका छन् भने यात्रुहरू बाटोमै अलपत्र परेका छन्। सडक विभागले पहिरो तथा कटान क्षेत्रमा सावधानी अपनाउन र सडक सञ्चालन नहुन्जेल धैर्य गर्न यात्रुहरूलाई आग्रह गरेको छ।

प्रकाशित: २४ असोज २०८३ १०:२५ | Saturday, October 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast