काठमाडौँ- नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने वा उनलाई हटाउने विषयलाई प्रतिवेदनमा नराख्ने सहमति गरेको कार्यदलका सचिव महेश बस्नेतले बताएका छन्।
कार्यदल बैठकपछि उनले अध्यक्षको आलोचना नगर्ने र पार्टी एकतालाई प्राथमिकतामा राखेर प्रतिवेदन अघि बढाउने सहमति भएको जानकारी दिएका हुन्।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले विभिन्न मस्यौदा र सुझावलाई समेटेर एकीकृत प्रतिवेदन तयार पारिएको बताए।
उनले भने,‘बल्थलीको बैठकपछि आएका सबै मस्यौदा प्रस्ताव र बैठकमा सदस्यहरूले राख्नुभएका सुझावहरूलाई समेटेर एकीकृत प्रतिवेदन ल्याउन तीन जना नेताहरूलाई जिम्मा दिइएको थियो। त्यही आधारमा आज एउटा एकीकृत प्रतिवेदन आयो र त्यसैलाई हामीले छलफलको मुख्य आधार बनायौं।’
कार्यदलमा अध्यक्ष ओलीको राजीनामा माग्ने विषयबारे विभिन्न धारणा देखिएपछि एकीकृत प्रतिवेदनमार्फत विवाद व्यवस्थापन गर्ने प्रयास गरिएको थियो। पछिल्लो सहमतिअनुसार तत्काल नेतृत्व परिवर्तनको विषय प्रतिवेदनमा नराखिने बस्नेतले बताएका छन्।
बस्नेतका अनुसार अध्यक्षको राजीनामा कहीँ कतै नमाग्ने, अध्यक्षलाई हटाउने कुरा कहीँ कतै नगर्ने र अध्यक्षको आलोचना कहीँ कतै नगर्ने सहमति भएको छ।
उनले एमालेमा विशेष महाधिवेशन वा विशेष विधान अधिवेशन तत्काल नबोलाउने निर्णय भएको पनि बताए।
‘विशेष महाधिवेशन वा विशेष विधान अधिवेशन बोलाउने कि नबोलाउने भन्ने विषयमा अहिले बोलाउनु उपयुक्त हुँदैन र बोलाइँदैन,’ बस्नेतले भने। उनका अनुसार नियमित महाधिवेशनमा नेतृत्व परिवर्तनको विषय उठ्नु भने स्वाभाविक प्रक्रिया हो र त्यसबारे विधान महाधिवेशनमा आवश्यक छलफल गर्न सकिनेछ।
राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक भने पार्टीको एकता प्रदर्शन र संगठनलाई थप सक्रिय बनाउने उद्देश्यसहित बोलाउने सहमति भएको बस्नेतले बताए। उनले वर्तमान सरकारको कार्यशैलीको विरोधमा पार्टीले राजनीतिक आन्दोलन अघि बढाउने बताए।
‘पार्टीको सुदृढ एकता प्रदर्शन हुने गरी, पार्टीलाई जुझारु ढंगले अगाडि बढाउने गरी, वर्तमान सरकारको अधिनायकवादी, प्रतिशोधी, निरङ्कुश र जनविरोधी शैलीविरुद्ध सशक्त आन्दोलन गर्ने ढंगले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने सहमति भएको छ,’ उनले भने।
यसअघि कार्यदलभित्र निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका विषयमा अलग अलग प्रतिवेदन आएका थिए। कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेल पक्षबाट फरक प्रस्ताव आएपछि त्यसलाई एकीकृत गर्ने जिम्मेवारी तीन नेतालाई दिइएको थियो।
कार्यदलभित्र नेतृत्व हस्तान्तरणको विषयमा समेत फरक मत देखिएको सार्वजनिक विवरणमा उल्लेख छ। सचिव राजन भट्टराईले अब केन्द्रीय कमिटी बैठकमा एउटै प्रतिवेदन पेस हुने बताएका छन्। उनका अनुसार अहिले तयार भएको प्रतिवेदनलाई आवश्यक परिमार्जन गरिनेछ।
कार्यदलका अर्का सचिव छविलाल विश्वकर्माले पनि प्रतिवेदनलाई अन्तिम रूप दिन थप छलफल हुने बताएका छन्। २९ पृष्ठको प्रतिवेदनलाई परिमार्जन गरी पारित गर्ने तथा तल्लो तहबाट आएका सुझावलाई अनुसूचीमा समेट्ने तयारी रहेको उनको भनाइ छ।
कार्यदलले विभिन्न १३ समूहबाट प्राप्त सुझावलाई पनि प्रतिवेदनमा समेट्ने जनाएको छ। कार्यदलको अन्तिम प्रतिवेदन सचिवालय हुँदै सोमबार बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गर्ने तयारी छ।


