फाइल तस्बिर
काठमाडौँ- धादिङको कृष्णभीरमा पृथ्वी राजमार्गको एक खण्ड भत्किएपछि काठमाडौँबाट विभिन्न गन्तव्यतर्फ सञ्चालन हुने पर्यटक बस सेवा प्रभावित भएको छ।
त्रिशूली नदीमा आएको बाढीको कटानले सडकको करिब १२० मिटर भाग भत्किएपछि दुई सातादेखि पृथ्वी राजमार्ग अवरुद्ध छ। सडक विभाग तथा सम्बन्धित निकायले हेटौँडा हुँदै तथा गोरखा र धादिङका मध्यपहाडी राजमार्गका खण्ड प्रयोग गरी वैकल्पिक मार्ग तोके पनि लामो आकारका पर्यटक बस साँघुरा र एकतर्फी वैकल्पिक सडकमा सञ्चालन गर्न कठिन भएको व्यवसायीहरूले बताएका छन्। त्यसका कारण विगत १० दिनदेखि पर्यटक बस सडकमा निस्कन सकेका छैनन्।
पृथ्वी राजमार्ग काठमाडौँलाई देशका अन्य भागसँग जोड्ने प्रमुख सडक हो। राजधानीलाई प्रमुख सहर तथा पर्यटकीय गन्तव्यसँग जोड्ने मुख्य मार्ग भएकाले यसमा ठूलो संख्यामा यात्रुवाहक तथा मालवाहक सवारीसाधन सञ्चालन हुन्छन्। वैकल्पिक कुनै पनि सडकले पृथ्वी राजमार्गले धान्दै आएको जति यातायातको चाप थेग्न सक्ने अवस्था छैन।
टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबीएएन) का अध्यक्ष भीष्मप्रसाद न्यौपानेका अनुसार कृष्णभीरमा सडक भत्किएपछि करिब दुई सय वटा पर्यटक बस प्रभावित भएका छन्।
‘काठमाडौँबाट पोखरा, सौराहा र लुम्बिनीलगायत गन्तव्यका लागि दैनिक ४०–४५ वटा पर्यटक बस छुट्थे। त्यति नै संख्यामा बस काठमाडौँतर्फ पनि आउँथे’, न्यौपानेले भने, ‘अहिले वैकल्पिक मार्ग हुँदै पोखराबाट काठमाडौँतर्फ करिब २५ जना यात्रु क्षमताका दुई–तीनवटा साना बस मात्र सञ्चालन भइरहेका छन्।’
सडकमार्ग हुँदै यात्रा गर्न रुचाउने विदेशी पर्यटकसमेत यसबाट प्रभावित भएको न्यौपानेले बताए।
धेरै विदेशी पर्यटकले हवाई यात्राभन्दा सस्तो हुनुका साथै सडकमार्गबाट यात्रा गर्दाको अनुभव लिन पाइने भएकाले पर्यटक बस रोज्ने गर्छन्। पर्यटक बस अन्य सार्वजनिक बसको तुलनामा आरामदायी, स्वच्छ र सुरक्षित पनि मानिन्छन्।
‘पर्यटक बस ठूला हुने भएकाले साँघुरो वैकल्पिक सडकका घुम्ती पार गर्न सक्दैनन्। त्यसैले सरकारले तोकेका वैकल्पिक मार्गमा हामीले बस सञ्चालन गर्न सकेका छैनौँ’, उनले भने, ‘यसबाट चालक र सहचालकसहित यो व्यवसायमा निर्भर सयौँ मानिस प्रभावित भएका छन्।’
कृष्णभीरमा बाढीले क्षति पुर्याएको सडकखण्डमा नयाँ ट्र्याक खोल्ने काम तीव्र गतिमा भइरहेको छ। न्यौपानेले उक्त ट्र्याकलाई तत्कालका लागि वैकल्पिक व्यवस्था मात्र भएको र यसले दीर्घकालीन समाधान दिन नसक्ने बताए।
‘कृष्णभीरमा पहिरो जाने समस्या लामो समयदेखि पृथ्वी राजमार्गलाई प्रभावित गर्दै आएको छ। सरकारले यो स्थायी समस्याको दीर्घकालीन समाधान खोज्नुपर्छ’, उनले भने, ‘अब त्रिशूली नदीको अर्को किनारतर्फ वैकल्पिक सडक निर्माण गर्ने समय आएको छ।’


