म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले लगातार तेस्रो आर्थिक वर्षसम्म घरमा हुने प्रसूतिलाई शून्यमा कायम गर्न सफल भएको छ । मातृ शिशु स्वास्थ्यमा सुधार ल्याउनका लागि अन्नपूर्णले घरमा प्रसूति हुनेको सङ्ख्या शून्य बनाएको हो ।
असुरक्षित प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी नवजात शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउन गरेको प्रयासस्वरुप घरमा प्रसूति हुनेको सङ्ख्या लगातार तेस्रो वर्ष शून्य कायम भएको अन्नपूर्ण गाउँपालिकाको जनस्वास्थ्य निरीक्षक समुन्द्र बरुवालले जानकारी दिए।
“अन्नपूर्णका सबै गर्भवतीहरूले पछिल्लो तीन वर्षयता स्वास्थ्य संस्थामा पुगेर दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएका छन् । घरमा प्रसूति हुनेको सङ्ख्या शून्य बनाएका छौँ”, उनले भने, “यसलाई कायम राख्नका लागि सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ ।”
यहाँ आर्थिक वर्ष २०८२/८३ मा ९१ जना, २०८१/८२ मा ७९ र २०८०/८१ मा ९१ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । गत आवमा सुत्केरी भएका ९१ जनामध्ये २५ जनाले गाउँपालिकाभित्रकै सङ्ख्याबाट सेवा लिएका थिए ।
आव २०७९/८० मा १३९ मध्ये १३५ जनाले संस्थागत प्रसूति सेवा लिँदा एक जनाले मात्र घरमा र चार जनाले मृत बच्चा जन्माएका थिए । आव २०७८÷७९ मा पालिकामा १२७ जनाले संस्थागत प्रसूति सेवा लिएका थिए ।
घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन पालिकाले ‘आमासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरेको छ । तोकिएको समयमा नियमित गर्भ परीक्षण र संस्थागत प्रसूति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउन, स्वास्थ्य र पोषण सुधार गर्न कार्यक्रम प्रभावकारी बनेको उपाध्यक्ष दिवा तिलिजा पुनले बताए।
गर्भवती स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थामा आउँदा अण्डा र सुत्केरीलाई घरमै पुगेर भाले दिने गरिएको उहाँले बताउनुभयो । तोकिएको मितिमा चारपटक गर्भ परीक्षण गर्दा हरेकपटक एक–एक क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरमै पुगेर एउटा कुखुराको भाले दिने गरिएको छ ।
सुत्केरी भएपछि पनि तीनपटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा, एक किलोग्राम सर्वोत्तम पीठो र बच्चालाई न्यानो कपडा दिने गरिएको छ । गर्भवती र सुत्केरीको खानपान, सरसफाइ र स्याहारसुसारमा जागरण आएको छ । आठ वडा रहेको अन्नपूर्णको दोवा र दानाबाहेक भुरुङ–तातोपानी, नारच्याङ, शिख, घार, हिस्तान र राम्चेका स्वास्थ्य संस्थामा प्रसूति सेवा केन्द्र छन् । वडा नं ५ मा पर्ने पाउद्वारको सामुदायिक स्वास्थ्य एकाइमा पनि प्रसूति केन्द्र सञ्चालनमा छ ।
–––


