मोदी खोलाको बाढीले तातोपानी कुण्ड र संरचना बगायो

हिमाल प्रेस २ भदौ २०८३ २१:३७ | Tuesday, August 18, 2026
2
SHARE
मोदी खोलाको बाढीले तातोपानी कुण्ड र संरचना बगायो फाइल तस्बिर

काठमाडौँ- कास्कीको अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड बाढीले बगाएको छ।

अविरल वर्षापछि खोलामा बाढी आउँदा तातोपानी कुण्ड तथा अन्य संरचनामा क्षति पुर्‍याएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

उनका अनुसार गत साउन २८ गते गएको बाढीले खोलाको किनारमा सिमेन्ट, ढुङ्गा बालुबाट निर्माण गरिएको तीन वटा तातोपानी कुण्ड पूर्णरूपमा बगाएर पूर्ण क्षति पुर्‍याएको हो।

बाढीले तातोपानी क्षेत्रमा रहेको एउटा शौचालय र एउटा चेन्जिङ रुमसमेत पूर्णरूपमा क्षति भएको छ। सिमेन्ट, ढुङ्गा तथा टिनले छाएको चेन्जिङ रुम पनि बाढीले बगाएको प्रशासनको भनाइ छ।

तातोपानी कुण्ड आसपास मानव बस्ती नरहेकाले घटनाको सूचना ढिलो गरी मंगलबार बिहानमात्र प्राप्त भएपछि दिउँसो १२ बजे प्रहरी चौकी घान्द्रुकबाट प्रहरी हवल्दार राजेश भैया थारुको नेतृत्वमा दुई जनाको टोली घटनास्थलमा खटिएको थियो।

प्रहरी टोलीले घटनास्थलमा पुगेर निरीक्षण गर्दा मानवीय क्षति नभएको पाइएको सहायक प्रजिअ बरालले बताए।

तातोपानी कुण्डमा पदयात्रामा जाने पर्यटकले नुहाउने गर्दथे। बाढीका कारण बीरेठाँटी–घान्द्रुक सडक बगाएकाले यातायात सम्पर्क हाल विच्छेद हुँदा पदयात्रामा जाने पर्यटक समेत छैनन्।

जसका कारणले बाढीबाट भएको क्षतिको सूचना प्राप्त गर्न ढिलाइ भएको प्रशासनले जनाएको छ।

मोदी खोलाको कटानका कारण बीरेठाँटीमा करिब १०० मिटर कालोपत्र सडक बगाएपछि नेपाली सेनाको सहयोगमा पुनःनिर्माण सुरु गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए।

उनका अनुसार बाढी र पहिराले विशेषगरी बीरेठाँटी क्षेत्र बढी प्रभावित भएको छ भने चिम्रुङ, हाइजुङलगायत आसपासका क्षेत्रमा पनि बाढीपहिरोले क्षति पुर्‍याएको छ।

प्रकाशित: २ भदौ २०८३ २१:३७ | Tuesday, August 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast