सन्तान र रोजगारीका लागि पुजारीले चिच्चाएर बर मागिदिने ‘खयरभरानी’मा मेला लाग्ने

हिमाल प्रेस १३ भदौ २०८३ ६:४६ | Saturday, August 29, 2026
सन्तान र रोजगारीका लागि पुजारीले चिच्चाएर बर मागिदिने ‘खयरभरानी’मा मेला लाग्ने
म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको ‘खयरभरानी’ तालमा पुजारीले चिच्चाएर बर मागिदिने चलन रहेको छ ।समुद्री सतहदेखि चार हजार ६५० मिटर उचाइमा अन्नपूर्ण हिमालको फेदीमा रहेको खयरभारानी तालमा र थानमा हरेक वर्षको जनै पुर्णिमा पर्वको अवसरमा चिच्याएर बर मागिदिने मेला लाग्ने गर्छ ।

यस वर्षको मेलामा पनि म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की र काठमाडौँलगायत देशका विभिन्न ठाउँबाट पुजाआजाका लागि भक्तजन आएका खयरभारानी क्षेत्र संरक्षण समितिका संरक्षक राजु पुनले बताए।

“परापुर्व कालदेखिनै ताल परिसरको थानभित्र बस्ने पुरुष पाडे (पुजारी)लाई भक्तजनले नाम, बर माग्ने विषय जानकारी गराउने, चिच्याएर खयरभारानी मातासँग बर मागिदिने चलन छ,” उनले भने, “पाउद्धारदेखि खयरभारानी तालसम्म पर्ने खोपारा र ढोकाधारीको थानमा पनि पुरुष पुजारीले चिच्चाएर बर मागिदिने बर्षौ अघिदेखिको चलन हो ।”

खयरभारानी तालमा भाकल गरेमा सन्तान प्राप्ती, शिक्षा, रोजगारीमा सफलता, सम्पत्ती आर्जन हुने जनविश्वास रहेको पाउद्धार गाउँका ७५ वर्षी रुद्रबहादुर मगरले बताए। भाकल गरेको पुरा भएपछि भेडाको साड र बोका बली चढाउने चलन छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका माइलन पुनले खयरभारानीमा भाकल गरेको पुरा भएपछि पुजा गर्न आएको बताए। बेनीकी धनकुमारी पुर्जाले खयरभारानी दर्शन गरेपछि मनोकाक्षा पुरा भएकाले पछिल्ला तीन वर्ष लगातार पुजाआजा गर्न आएको बताए।

पोखराकी विष्णु जिसीले मनोकांक्षा पुरा हुने विश्वासका साथ खयरभारानी दर्शनका लागि आएको बताउनुभयो । यसपाली करिब एक जना जना भक्तजनले खयरभारानीमा पुजाआजा गरेका समितिले जनाएको छ । पाउद्धार गाउँदेखि दुई दिनको पैदलयात्रापछि खयरभारानी ताल पुगिन्छ ।

बस्तिदेखि टाढा रहेको खयरभारानी दर्शनका लागि खोपारामा पाउद्धार पर्यटन सहकारी संस्था र खयरखोलामा समितिले भक्तजनलाई आवास र खानाको सुविधा दिएका थिए । सामुदायिक लज र टहरामा नअटाएका भक्तजन भेडा गोठालाले सञ्चालन गरेको ‘गोठस्टे’मा पनि बास बसेर खयरभारानी दर्शन गरेर फर्किएका छन् ।

तालको क्षेत्रफल १० हजार वर्गमिटर छ । तालको छेवैमा खयरभारानी थान रहेको छ । पर्यटकीय स्थल खोप्रबाट करिब सात घण्टाको पैदल यात्रापछि खयर तालमा पुग्न सकिन्छ । अन्नपूर्ण र बराह शिखर हिमालको फेदीमा रहेको खयरभारानी ताल परिसरदेखि धौलागिरि हिमालको दृष्य अवलोकन गर्न सकिन्छ ।

स्थानीयबासीले दिवंगत आफन्तको स्मृतिमा कालीगण्डकी किनारको घारखोलादेखि पाउद्वार खोपारा, खयरखोला हँुदै खयरभारानी तालसम्म करिब २७ किलोमिटर ढुङ्गाको सिढीसहितको पदमार्ग, खानेपानी र आश्रयस्थल बनाएका छन् । दाताबाट रु एक करोड ८० लाख जुटाएर पूर्वाधार निर्माण गरेको जानकारी दिँदै संरक्षक पुनले सरकारी निकायबाट पनि सहयोगको अपेक्षा गरेको बताए।

 

प्रकाशित: १३ भदौ २०८३ ६:४६ | Saturday, August 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast