काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सरकारलाई सुझाव दिएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पुनले लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत सत्ता फेरबदल भइरहने स्मरण गराउँदै कार्यालयका भित्तामा झुण्डिएका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीका तस्बिर हेरेर सधैँ सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सुझाव दिएका हुन्।
उनले सरकारलाई दम्भी, अहंकारी र धम्कीपूर्ण शैली त्यागी विनम्र हुन तथा सबैको अस्तित्व स्वीकार्न आग्रह समेत गरे। सांसद पुनले चुनावअघि ‘पैसा नहुनेले पढ्न पाउँछ’ भन्ने अभिव्यक्ति दिइएको तर सरकारमा गएपछि स्वास्थ्य, शिक्षा र घरेलु बिजुली खपतमा अतिरिक्त कर थोपरेर जनताको ढाड सेक्ने काम भएको आरोप लगाए।
उनले जनेजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग र राष्ट्रिय मानव अधिकार आयोगले बुझाएका दुवै प्रतिवेदन तत्काल सार्वजनिक गरी सिफारिस कार्यान्वयन गर्न माग गरे।
भदौ २३ र २४ गतेका घटनामा आगजनी, लुटपाट र सार्वजनिक सम्पत्ति नष्ट गर्ने वास्तविक दोषीलाई प्रमाणका आधारमा कारबाही गर्नुपर्ने भए पनि राजनीतिक आस्था वा सामाजिक पहिचानका आधारमा निर्दोषलाई फसाउन नहुने उनले बताए।
त्यस्तै पुनले रसुवा र नुवाकोटका दुर्गम तथा अति प्रभावित बस्तीहरूमा बाटो, पुल र सञ्चार सम्पर्क नहुँदा राहत पुग्न नसकेको बताए। राज्य केवल ‘आकाश र काठमाडौँमा मात्र देखियो’ भन्ने जनआक्रोशप्रति ध्यानाकर्षण गराउँदै उहाले राहत कहाँ, कति र कसलाई पुग्यो÷पुगेन भन्ने विवरण संसदमा सार्वजनिक गर्न माग गरे।
विपत्तिले पार्टी र राजनीतिक विचार नहेर्ने भएकाले पीडितको उद्धार र पुनर्निर्माणमा प्रतिपक्षको सहयोग रहने तर कमजोरीमा निरन्तर खबरदारी गर्ने उनको भनाइ छ।


