काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले शासकीय अहंकार नदेखाउन सरकारका मन्त्रीहरुलाई सुझाव दिएका छन्।
बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले मन्त्रीहरूले ‘खुट्टा भाँचिदिने’ वा ‘गोली हान्ने’ जस्ता गैरजिम्मेवार धम्की दिन नमिल्ने भन्दै संविधान र कानुनको परिधिभित्र बस्न सुझाव दिए।
उनले मंगलबार जेनजी सहिद स्मृति दिवसको कार्यक्रममा गृहमन्त्रीलाई जनताले जेनजीमार्फत हुटिङ र कालोझण्डा देखाइसकेको भन्दै शासकीय अहंकार देखाए जनताले अझ कडा प्रतिवाद गर्ने उल्लेख गरे।
प्रधानमन्त्री, गृहमन्त्री र सरकार संवाद गर्न नचाहेको र ‘एक्लै संसार बोकेर हिँड्ने’ अहंकारी शैली देखाएको उनको भनाइ छ। पुराना दलहरूलाई जनताले दण्डित गरिसकेको र अहिले सडकमा रहेको स्वीकार्दै नेता पुनले आफूहरू सच्चिएर र समीक्षा गरेर फेरि जनताको भावनाअनुसार अघि बढ्ने बताए।
उनले गत वर्ष युवाहरूमाथि गोली प्रहार, दमन भएको तथा त्यसपछि जनताको आक्रोश र प्रतिवाद स्वाभाविक रूपमा उर्लिएको उल्लेख गरे।
जेनजी आन्दोलनमा भू–राजनीतिक स्वार्थ, घुसपैठ, हिंसा, तोडफोड र आगजनी मिसिएको भन्दै जोसुकै संलग्न भए पनि २४ गतेका घटनाहरूको निष्पक्ष छानबिन गरी कडा कारबाही हुनुपर्ने उनले बताए।


