जेनजी विद्रोहको मूल भावना सत्ता प्राप्ति होइन सुशासन र जवाफदेहिता थियो : रविकिरण हमाल [कुराकानी]

हिमाल प्रेस २३ भदौ २०८३ ११:४५ | Tuesday, September 8, 2026
जेनजी विद्रोहको मूल भावना सत्ता प्राप्ति होइन सुशासन र जवाफदेहिता थियो : रविकिरण हमाल [कुराकानी]

जेनजी विद्राेह भएको एक वर्ष पुगेको छ। गएको वर्ष आजकै दिन जेनजी विद्राेह भएको थियो। उक्त विद्राेहकै कारण देशको राजनीतिक परिदृश्य फरक बन्न पुग्यो। शान्तिपूर्ण भनिएको विद्राेह एकाएक हिंसात्मक भयो भने देशका सांस्कृतिक धरोहरहरू जल्न पुगे। भदौ २३ मा संसद् भवन जल्यो, ७६ जना नवयुवकहरू गोली प्रहारबाट मारिए भने २४ गते अधिकांश सरकारी र व्यक्ति सम्पत्तिमाथि प्रहार भयो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली समेत सेनाको हेलिकप्टरबाट भाग्नुपर्‍यो। त्यही विद्राेहमा सक्रिय सहभागी भएका जेनजी अभियन्ता रविकिरण हमालसँग गरिएको कुराकानी :

जेनजी विद्राेहको एक वर्ष पुग्यो, तपाईँ जेनजी प्रदर्शनमा कसरी जोडिनुभयो?

म पछिल्लो एक दशकदेखि सक्रिय राजनीति एवं सामाजिक नागरिक विद्राेहमा सहभागी हुँदै आएको छु। राजनीतिशास्त्र र आमसञ्चारको विद्यार्थी भएकाले विधिको शासन, उन्नत लोकतान्त्रिक अभ्यास, जवाफदेहिता, सुशासन तथा कुशासन र विभेदविरुद्ध निरन्तर आवाज उठाउँदै आएको थिएँ।

म जेनजी विद्राेह सुरु भएको दिनदेखि मात्र जोडिएको होइन। विद्राेहभन्दा करिब एक साताअघिदेखि नै सामाजिक सञ्जालमा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, ‘नेपो बेबी’ संस्कृति, कुशासन र युवामा सिर्जना भएको अवसरको अभावका विषयमा आक्रामक रूपमा आफ्ना धारणा राखिरहेको थिएँ। त्यही क्रममा विभिन्न साथीहरूसँग जोडिने र साझा प्रतिरोधको वातावरण निर्माण गर्ने अवसर मिल्यो। विद्राेहको अग्रमोर्चामा देखिएका धेरै युवा पनि कुनै न कुनै रूपमा राजनीतिक वा सामाजिक विद्राेहमा सक्रिय नै थिए। त्यसैले यो विद्राेह अचानक शून्यबाट जन्मिएको होइन, युवामा लामो समयदेखि विकास हुँदै आएको राजनीतिक चेतना, असन्तुष्टि र परिवर्तनको आकांक्षाले एउटा साझा रूप लिएको हो।

सामाजिक सञ्जालले त्यसलाई जोड्ने र समन्वय गर्ने माध्यमको काम गर्‍यो। हामी नेपालमा सबैभन्दा धेरै स्वतन्त्रता उपभोग गरेर हुर्किएको पुस्ता हौँ। त्यही पुस्ताको स्वतन्त्रता खोस्ने प्रयास भएपछि त्यो असन्तुष्टि विद्राेहको भ्रुणका रूपमा विकसित भयो। भदौ २२ गते हामीले पत्रकार सम्मेलन गरेर युवालाई सडकमा उत्रिन आह्वान गरेका थियौँ। त्यसैले म यसलाई कुनै एक व्यक्ति वा समूहले बनाएको विद्राेहभन्दा पनि नयाँ पुस्तामा लामो समयदेखि विकास भइरहेको राजनीतिक चेतनाको सामूहिक विस्फोटका रूपमा बुझ्छु।

जेनजी विद्राेह शान्तिपूर्ण भनिएको थियो। तर विध्वंशकारी घटना हुन पुग्यो। यस्तो कल्पना गर्नुभएको थियो?

हामीले कल्पना गरेको विद्राेह पूर्णतः शान्तिपूर्ण प्रतिरोधको थियो। तर हिंसातर्फ जान सक्ने जोखिम देखिएको थियो। त्यसैले मैले विद्राेहको सुरुवाती चरणमै सुरक्षा निकायलाई समेत समयमै जानकारी गराएको थिएँ परिस्थिति नियन्त्रण बाहिर जान सक्छ, हिंसात्मक द्वन्द्वतर्फ जान सक्छ भनेर।

किनभने त्यसबेला विद्राेहलाई योजनाबद्ध रूपमा द्वन्द्वतर्फ लैजान खोज्ने शक्तिहरू प्रवेश गरिसकेको आभास हामीलाई हुन थालेको थियो। त्यो पानी बाँड्ने नाममा होस्, ‘भोलेन्टियरिङ’ गर्ने नाममा होस्, वा अन्य देशका स्वतन्त्रता विद्राेहसँग जोडेर भावनात्मक वातावरण निर्माण गर्ने प्रयासका रूपमा होस्,विभिन्न माध्यमबाट विद्राेहको चरित्र परिवर्तन गर्ने प्रयास देखिन थालेको थियो।

हाम्रो उद्देश्य त्यस्तो थिएन। हामीले त लाखौँ युवा सडकमा आइसकेपछि तत्कालीन सरकारले दुईमध्ये एउटा राजनीतिक बाटो रोज्नुपर्छ भन्ने ठानेका थियौँ या त विद्राेहकारीसँग वार्ता गरेर समस्याको राजनीतिक समाधान खोज्नुपर्छ या नैतिक र राजनीतिक जिम्मेवारी लिएर राजीनामा दिई नयाँ राजनीतिक प्रक्रिया अगाडि बढाउनुपर्छ। तर त्यसको सट्टा राज्यले बल प्रयोग गर्ने बाटो रोज्यो। त्यसपछि परिस्थिति अत्यन्तै जटिल बन्दै गयो।

देश जल्ने, व्यापक विध्वंश हुने र विद्राेह यति ठूलो हिंसात्मक घटनामा परिणत हुने कुरा हाम्रो कल्पनामा थिएन। त्यसैले भएको विध्वंशलाई सामान्य वा स्वाभाविक राजनीतिक प्रतिक्रियाका रूपमा लिनु हुँदैन। विद्राेहको वैध माग र त्यसलाई हिंसात्मक बनाउने योजनाबीच स्पष्ट अन्तर छुट्याउनुपर्छ। विद्राेहको मूल भावना शान्तिपूर्ण थियो, त्यसलाई हिंसातर्फ धकेल्ने प्रयासको निष्पक्ष छानबिन हुनुपर्छ।

विध्वंश मच्चियो, त्यसबेला तपाईं कहाँ हुनुहुन्थ्यो?

पहिलो दिन म प्रदर्शनमै थिएँ र भाग्यले बाँचेको हुँ। संसद् भवन क्षेत्र आसपासको प्रदर्शनमा अवस्था अत्यन्तै भयावह बन्यो। गोली चल्न थाल्यो, दर्जनौँ मानिसहरू ढले। सम्भवतः राति करिब ९ बजेतिर संसद् भवन क्षेत्रबाट अन्तिमतिर बाहिरिएको हुँ। त्यतिबेला अवस्था केही शान्त भइसकेको थियो र नेपाली सेनाले उक्त क्षेत्र नियन्त्रणमा लिइसकेको थियो। त्यसको केही समयपछि, भदौ २३ गते राति नै मलाई पक्राउ गरियो। भोलिपल्ट दिउँसो मात्र हिरासतबाट बाहिर निकालियो। दोस्रो दिन बाहिर निस्कँदा देशभर भयावह अवस्था सिर्जना भइसकेको थियो। त्यसपछि मेरो भूमिका विद्राेहमा सहभागी हुने भन्दा पनि परिस्थिति नियन्त्रणमा ल्याउने र शान्ति स्थापना गर्ने दिशातर्फ केन्द्रित भयो। मैले सुरक्षा संयन्त्रसँग समन्वय गरेँ, फिल्डमै गएर जोखिम लिएर शान्तिका लागि आह्वान गरेँ। सामाजिक सञ्जालमार्फत पनि निरन्तर शान्ति स्थापनाको पहल गरेँ। जहाँ सम्भव भयो, मानिसहरूलाई संयमित हुन, हिंसा रोक्न र जनधनको थप क्षति हुन नदिन आग्रह गरेँ। त्यो बेला व्यक्तिगत सुरक्षाभन्दा देशमा शान्ति कायम गर्नु महत्त्वपूर्ण थियो। किनकि हामीले विद्राेह परिवर्तनका लागि गरेका थियौँ, देशलाई खरानी बनाउनका लागि होइन।

भदौ २३ को घटना घटेपछि २४ मा झनै विध्वंश मच्चिन्छ भन्ने तपाईंलाई लागेको थियो?

भदौ २३ गते नै एक प्रकारको भिडन्त भइसकेको थियो। दर्जनौँ मानिसहरू ढलिसकेका थिए। त्यसैले भोलिपल्ट अझ भयावह अवस्था सिर्जना हुन सक्छ भन्ने अनुमानचाहिँ थियो। यद्यपि म त्यतिबेला हिरासतमा थिएँ। बाहिर के भइरहेको छ भन्ने सम्पूर्ण जानकारी प्रत्यक्ष रूपमा पाउने अवस्था थिएन। त्यसैले विद्राेह यति ठूलो रूपमा विस्फोट हुन्छ भन्ने कुरा अनुमान गर्न कठिन थियो। तर एउटा कुरा चाहिँ मैले कल्पना गरेको थिइनँ,राज्यविहीनताको जस्तै अवस्था सिर्जना होला भन्ने। त्यो अवस्था नआओस् भन्ने लागेको थियो। दुर्भाग्यवश, त्यो भयो मात्र होइन, गराइयो भन्ने प्रश्नसमेत आज उठिरहेको छ। भदौ २४ गतेको घटनाले केवल विद्राेहलाई हिंसात्मक बनाएन। त्यसले देशको राजनीतिक संरचना नै परिवर्तन गर्ने परिस्थिति सिर्जना गर्‍यो। त्यसैले भदौ २४ का घटनालाई सामान्य भीडको स्वस्फूर्त प्रतिक्रिया भनेर मात्र व्याख्या गरेर पुग्दैन। कसरी राज्यविहीनताको अवस्था सिर्जना भयो? कसले त्यसबाट लाभ लियो? हिंसा कसरी विस्तार भयो? र त्यसपछि सत्ता संरचना कसरी निर्माण भयो? यी सबै प्रश्नको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्छ।

विद्राेह हाइज्याक भयो भनिन्छ, तपाईंलाई लाग्छ यो कुरा?

हो, मलाई विद्राेह हाइज्याक भएको लाग्छ। तर यहाँ एउटा कुरा स्पष्ट गर्नुपर्छ,विद्राेहको मूल भावना, स्पिरिट र वैधता हाइज्याक भएको होइन, त्यसबाट उत्पन्न राजनीतिक परिस्थितिको दुरुपयोग गरेर सत्ता संरचना परिवर्तन गरिएको हो। हामीले जुन उद्देश्यका साथ सडकमा आवाज उठाएका थियौँ, त्यो उद्देश्य सत्ता प्राप्ति थिएन। हाम्रो माग सुशासन, जवाफदेहिता, पारदर्शिता, स्वतन्त्रता र अवसर थियो। तर भदौ २४ गते राज्यविहीनताको अवस्था सिर्जना भएपछि त्यसबाट एउटा नयाँ सत्ता संरचना निर्माण भयो। मेरो राजनीतिक बुझाइमा विद्राेहको पवित्र उद्देश्यलाई दुरुपयोग गरेर सत्ता प्राप्त गर्ने प्रक्रिया त्यहीँबाट सुरु भयो। त्यसैले म भदौ २३ गतेका विद्राेहकारी र त्यसपछि सत्ता प्राप्त गर्ने राजनीतिक प्रक्रियालाई एउटै कुरा मान्दिनँ। हामीले तत्कालीन सरकारको दमन र त्यसपछि भएको सत्ता कब्जा,दुवैको निष्पक्ष छानबिन हुनुपर्छ भन्दै आएका छौँ। विद्राेहको नाममा युवामाथि गोली चलाउनेहरू हुन् वा देशलाई हिंसा र ध्वंसतर्फ धकेलेर राजनीतिक लाभ लिनेहरू,दोषी जोसुकै भए पनि कानुनी कठघरामा उभ्याइनुपर्छ।

तपाईं चुनाव पनि लड्नुभयो। अहिले स्वतन्त्र हुनुहुन्छ। तपाईंले खोजेजस्तो परिवर्तन नेपालमा भयो?

हाम्रो अपेक्षाअनुसार परिवर्तन भएको छैन। पहिलो कुरा, हामीले मध्यावधि निर्वाचनबाट मात्रै समस्या समाधान हुँदैन भनेर निरन्तर आवाज उठाएका थियौँ। तर हामीले त्यसलाई रोक्न सकेनौँ। त्यसपछि हाम्रो अगाडि अर्को प्रश्न थियो, देशलाई थप द्वन्द्वतर्फ जान नदिने कसरी? देशलाई फेरि खरानी बनाउने शक्तिहरूलाई थप वातावरण निर्माण हुन नदिने कसरी? त्यही कारणले हामीले निर्वाचन स्वीकार गरेका हौँ। देशमा थप द्वन्द्व नहोस्, हिंसा थप नफैलियोस् र देशलाई थप विनाशतर्फ लैजाने परिस्थिति नबनोस् भनेर निर्वाचनलाई राजनीतिक निकासको एउटा माध्यमका रूपमा स्वीकार गरेका हौँ। तर यसको अर्थ जेल ब्रेक गर्ने, देशलाई खरानी बनाउने, नेपालको सार्वभौम सत्तामाथि प्रहार गर्ने वा विद्राेहलाई योजनाबद्ध रूपमा हिंसात्मक बनाउने कार्यले वैधता पाओस् भनेर हामीले निर्वाचन स्वीकार गरेका हौँ भन्ने होइन। कहिल्यै होइन।

निर्वाचन स्वीकार गर्नु र त्यसअघिका हिंसात्मक तथा विध्वंसकारी गतिविधिलाई वैधता दिनु बिल्कुल फरक कुरा हो। म निर्वाचनमा सहभागी भएँ, तर मेरो राजनीतिक प्रश्नहरू त्यहीँ सकिएका छैनन्। आज पनि म त्यही प्रश्न उठाइरहेको छु,भदौ २३ गतेको राज्य दमनको जिम्मेवारी कसले लिने? भदौ २४ गतेको विध्वंस र सत्ता हस्तान्तरणको राजनीतिक जिम्मेवारी कसले लिने?

हामीले खोजेको परिवर्तन अझै संस्थागत भएको छैन। हामीले राज्यका तर्फबाट गोली प्रहार गरेर अब कुनै नेपाली नागरिक नमारियोस् भन्ने अपेक्षा गरेका थियौँ। तर त्यसपछि पनि सुनसरी र सिराहाका घटनामा चार जना जेनजी युवाको गोली प्रहारबाट मृत्यु भयो। सार्वजनिक संस्थाप्रतिको विश्वास बढ्छ भन्ने थियो, झन् कमजोर हुँदै गएको देखिन्छ। देश एकताबद्ध हुन्छ भन्ने थियो, समाज झन् ध्रुवीकरणतर्फ गइरहेको आभास हुन्छ।

तर म निराश छैन। परिवर्तन एउटा विद्राेह वा एउटा निर्वाचनबाट मात्र पूरा हुँदैन। हाम्रो पुस्ता अझै अध्ययन, अनुसन्धान, नीति, प्रविधि, उद्यम र सामाजिक क्षेत्रमा अनुभव बटुलिरहेको छ। हामी देश बुझ्दैछौँ, सिक्दैछौँ र आफूलाई भविष्यको जिम्मेवारीका लागि तयार गर्दैछौँ। हाम्रो यात्रा अझै बाँकी छ।

तपाईं चुनाव राप्रपाबाट लड्नुभयो। पछि त्यो पार्टी पनि छाड्नुभयो। राप्रपा मात्र छाड्नुभयो कि राजतन्त्रप्रतिको आस्था पनि त्याग्नुभयो?

मैले राप्रपा छाडेको हुँ। तर नेपालको भविष्यका विषयमा मेरो विचार, मूल्यांकन र राजनीतिक दृष्टिकोण निरन्तर अध्ययन, अनुभव र समयक्रमसँगै विकसित हुन्छ। मेरो प्राथमिकता व्यक्ति वा कुनै एउटा व्यवस्थाभन्दा पनि नेपाल कस्तो राज्य बन्ने भन्ने हो,सुशासन भएको, भ्रष्टाचारमुक्त, जवाफदेही, समृद्ध, सार्वभौम र युवाका लागि अवसर भएको नेपाल। त्यसैले राजतन्त्र होस् वा गणतन्त्र, अन्ततः प्रश्न नेपाली जनताको सार्वभौम निर्णय, संस्थाहरूको विश्वसनीयता र देशको हितमा केन्द्रित हुनुपर्छ।

अबको यात्रा कसरी अघि बढ्छ तपाईंको?

अबको यात्रा भनेको विद्राेहको मर्मलाई जीवन्त राख्दै त्यसलाई संस्थागत परिवर्तनमा रूपान्तरण गर्ने यात्रा हो। जेनजी विद्राेह मेरो लागि कुनै एउटा दिनको प्रदर्शन थिएन। यसले नयाँ पुस्तालाई राजनीतिक रूपमा जागृत गराएको छ। अब सडकमा आवाज उठाउने मात्र होइन,सार्वजनिक संस्थाहरूको पुनर्संरचना गर्ने, तिनलाई जवाफदेही र जनमुखी बनाउने तथा राज्यका संस्थामाथिको नागरिक विश्वास पुनर्स्थापित गर्ने काम पनि गर्नु छ। अन्याय, विभेद र असमानताविरुद्धको संघर्ष पनि जारी राख्नुपर्छ। किनकि जेनजी विद्राेहको मर्म समाज र राज्यको चरित्र परिवर्तन गर्ने आकांक्षा थियो।

मेरो व्यक्तिगत आकांक्षा अझ ठूलो छ। आफ्नै जीवनकालमा नेपाललाई विश्वको उन्नत राष्ट्रका रूपमा देख्न चाहन्छु। र, विश्वको एउटा उन्नत, स्वाभिमानी र सम्मानित देशका नागरिकका रूपमा प्रत्येक नेपालीले गर्वका साथ बाँच्न पाउने अवस्था निर्माण भएको देख्न चाहन्छु। त्यो महान् आकांक्षा पूरा गर्ने यात्रामा मेरो आफ्नो ठाउँबाट योगदान गर्नु नै अबको मेरो उद्देश्य हो। हाम्रो पुस्ताले प्रश्न गर्ने पुस्ता भएर बस्नु हुँदैन। हामीले उत्तर दिने, समाधान निर्माण गर्ने र आवश्यक परे देशको नेतृत्व गर्ने पुस्ता बन्नुपर्छ।

प्रकाशित: २३ भदौ २०८३ ११:४५ | Tuesday, September 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast