काठमाडौँ- नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त रजिस्ट्रार (कुलसचिव) प्रा.डा. नवराज कट्टेल र रेक्टर (शिक्षाध्यक्ष) प्रा.डा. जगन्नाथ रेग्मीले कार्यभार सम्हालेका छन्।
दुवैजनाले विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुन्डीमा शपथ लिएपछि कार्यभार सम्हालेका हुन्। उनीहरूलाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. भीम खतिवडाले शपथ गराएका थिए।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रेग्मीलाई रेक्टर र कट्टेललाई रजिस्ट्रारमा नियुक्त गरेका थिए। उपकुलपति खतिवडा यसअघि नै नियुक्त भएका हुन्। तीनैजना पदाधिकारी खुला प्रतिस्पर्धाबाट चयन भएका छन्।
सरकारले प्रा.डा. माधवशरण उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो। समितिले खुला प्रतिस्पर्धामार्फत तीन पदाधिकारीका लागि तीनतीनजनाको नाम सिफारिस गरेको थियो।
नवनियुक्त रजिस्ट्रार कट्टेलका अनुसार अब प्राचार्यहरूमध्येबाट एक जना तथा प्राध्यापक/कर्मचारीमध्येबाट एक जना नियुक्त भएपछि विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्णता पाउनेछ।
कार्यकारी परिषद्ले पूर्णता पाएपछि प्राज्ञिक तथा अनुसन्धानका काम, पाठ्यक्रम निर्माण तथा परिमार्जनलगायत नियमित कार्यक्रमलाई अघि बढाउनुका साथै नयाँ कार्यक्रम सञ्चालन गरिने उनले बताए।
संस्कृत भाषा तथा साहित्यको अध्ययनअध्यापनलाई थप प्रभावकारी बनाउने, शास्त्रीय स्तरका विद्यार्थी उत्पादन गर्ने तथा स्वदेश र विदेशका विश्वविद्यालयसँग समन्वय गरी अनुसन्धान, पठनपाठन र विद्यार्थी आदानप्रदानमा सहकार्य गर्ने योजना रहेको उनले बताए।
नेपाल संस्कृत विश्वविद्यालयमा वैदिक र लौकिक संस्कृत वाङ्मयअन्तर्गतका विभिन्न शास्त्रीय तथा आधुनिक विषयविधाका साथै ज्योतिष, आयुर्वेद, योग र प्राकृतिक चिकित्साजस्ता प्रायोगिक विधाको अध्ययन–अध्यापन हुँदै आएको छ।
आगामी दिनमा वास्तुशास्त्र, इन्जिनियरिङ, पौरस्त्य कृषिविज्ञान र विधिशास्त्रजस्ता नयाँ विधामा समेत अध्ययन, अध्यापन, अनुसन्धान तथा प्रशिक्षण सञ्चालन गर्ने कार्यक्रम रहेको कट्टेलले बताए। त्यसअनुसार आवश्यक तयारीसमेत अघि बढाइएको उनले जानकारी दिए।


