पहिरोपछि भित्तामा ट्रयाक निकालेर कृष्णभीरमा बनाइएको सडक। तस्बिर : प्रधानमन्त्री कार्यालय
काठमाडौँ- १८ दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा पुनःसञ्चालनमा आएको छ। यही भदौ १४ गते कृष्णभीरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो। आज बिहानदेखि कृष्णभिर हुँदै गाडी चल्न थालेका हुन्।
सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभिरको सडकमा नयाँ ट्र्याक खोलेर बिहीबार बिहानबाट दुईतर्फी नै यातायात सञ्चालन गरिएको हो। १० भदौमा आएको भोटेकोसी बाढीले त्रिशूलीले सडकको तल्लो भाग बगाएपछि सडक पूरै भासिएको थियो।
१४ भदौबाट पूर्ण रूपमा सडक अवरुद्ध बनेपछि गत भदौ १८ गतेदेखि नजिकै रहेको ढिस्कोलाई काटेर नयाँ ट्र्याक खोलिएको हो। नागढुङ्गा–मुग्लिन सडक योजना ९पश्चिम खण्ड०का इञ्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्ममा सबै काम सकेर आजदेखि नयाँ ट्र्याकबाट गाडी सञ्चालनमा ल्याइएको हो।
नदी कटानबाट करिब १०० मिटर सडक क्षतिग्रस्त भई यातायात अवरुद्ध भएकामा पूर्वाधार विकास मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधनको अधिकतम परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सडक पुनःस्थापनाको काम गरेसँगै छोटो समयमा सडक सञ्चालनमा आएको हो।
दुई दिनअघिदेखि नै सडकमा रोकिएका सवारीलाई साँझ कटाइएको थियो। आज बिहानदेखि भने यातायात नियमित गरिएको हो। कृष्णभीरमा सवारी सञ्चालन भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आंशिक रोकिएको सवारी आजदेखि सञ्चालनमा ल्याइएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभीरमा सवारी सञ्चालनमा आएसँगै तत्कालका लागि तुइन खोलामा आंशिक सडक रोकेर गरिएको पहिरो रोकथामको काम रोकिएको जानकारी दिए।
लामो समयदेखि कृष्णभिरको सडक अवरुद्ध हुँदा ठूला सवारीसाधन संघीय राजधानी काठमाडौँ आवतजावत गर्न पाएका थिएनन्। यसका कारण राजधानीमा एलपी ग्यासको अभाव देखिएको छ।
गत भदौ १० गते भोटेकोसी बाढीपछि बढेको त्रिशूलीमा १४ गते पुनः बाढी आएपछि कृष्णभिरलगायत पृथ्वी राजमार्गका विभिन्न ठाउँमा सडक भासिएको थियो।
अन्य ठाउँमा सहज भए पनि कृष्णभिरमा पूरै भासिएपछि समस्या भएको हो। यो सडक हुँदै दैनिक १४ हजार सवारी आवतजावत गर्ने गर्दछन्। रासस


